PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रदेश २ मा कांग्रेस फोरमबीच मुठभेडको सम्भावना: वीरगंजको वीपी पार्कमा शहीद पार्क शिलान्यास हुँदै, बिथोल्ने तयारीमा कांग्रेस



राधेश्याम पटेल

प्रदेश २ मा कांग्रेस फोरमबीच मुठभेडको सम्भावना: वीरगंजको वीपी पार्कमा शहीद पार्क शिलान्यास हुँदै, बिथोल्ने तयारीमा कांग्रेस

वीरगंज: प्रदेश २ सरकारले वीरगंजको घण्टाघर नजिक रहेको वीपी पार्कको १० विघा जग्गा हस्तक्षेप गरी शहीद पार्क बनाउन लागेको  भन्दै नेपाली कांग्रेस पर्साले आपत्ति जनाएको छ।

नेपाली कांग्रेस पर्साले आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै भोलि हुने शिलान्यास कार्यक्रमलाई बिथोल्ने कार्यक्रम रहेको जनायो।

नेपाली कांग्रेसका सभापति अजय द्विवेदीले वीपी पार्कमा १ अर्ब २५ करोडको पार्क बनाउने डिपिआर भइ योजना अघि बढिरहेको अवस्थामा प्रदेश सरकारले हस्तक्षेप गरी शहीद पार्क बनाउन लागेको आरोप लगाए। ‘२०६० साल कात्तिक २७ गतेको मितिमा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल यातायात संस्थानको ७ किताको जग्गा वीरगंज महानगरले १० करोडमा किनी वीपफ पार्कबाहेक अरु कुनै प्रयोजनमा उक्त जग्गा उपभोग गर्न पाइदैन भनेर त्यस बेलाको निर्णयमा उल्लेख छ,’पर्सा कांग्रेसका सभापति द्विवेदीले भने,‘प्रदेश सरकारले गैरकानुनी हिसाबले हस्तक्षेप गरी शहीद पार्क बनाउन खोज्यो भने त्यसको विरोध गर्छौ,विपी पार्कको जग्गा मिचेर अन्य पार्क बनाउन दिन्नौ।’

यता, प्रदेश सरकारको मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयले शहरी विकास तथा भवन कार्यालय वीरगंज( प्रदेश २)लाई यस वर्ष शहीद पार्क बनाउन ७५ लाख रकम विनियोजना गरी बुधवार शहीद पार्कको शिलान्यास गर्ने कार्यक्रम तोकेको छ।

सोहीलाई लक्षित गरी कांग्रेस पर्साले पत्रकार सम्मेलन गरी उक्त योजना अघि नबढाउन ध्यानाकर्षणसमेत गराएको जनाएको छ। कांग्रेस पर्साले यदि मुठभेडको राजनीति गरी शिलान्यास गर्ने प्रयास गरियो भने कार्यक्रम बिथोल्ने जनाएको छ।

वीरगंज महानगरसँग प्रदेश सरकारले कुनै भौतिक संरचना बनाउनेबारे अनुमति नलिएको जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भूषालले आफ्नो कार्य क्षेत्रभन्दा माथिको कुरा भएकोले यस विषयमा आफुसँग कुनै किसिमको अनुमति नलिइएको स्पष्ट पारे।

वीपी,मनमोहनको नामबाट मधेशमा कुनै संरचना बन्दैन: फोरम

प्रदेश सरकारको एक घटक संघीय समाजवादी फोरम नेपालले बुधवारको कार्यक्रम यथावत रहेको जनाएको छ। मुख्यमन्त्री लालबाबू राउत गद्दी आबद्ध फोरम नेपालको प्रदेश सचिव सलाउद्दिन अहमदले बुधवारको शहीद पार्कको शिलान्यास कार्यक्रम यथावत रहेको पुष्टि गरे।

उनले भने,‘वीरगंज तथा मधेसमा वीपी र मनमोहनको नामबाट कुनै भौतिक संरचना बन्दैन,त्यसको लागि पार्टी र प्रदेश सरकारको नीति र लाइन एउटै छ,यदि कसैले भोलिको कार्यक्रम बिथोल्ने काम वा विरोध गर्‍यो भने त्यस्ता शक्ति मधेशबाट आफै हराएर जाने छन्।’

उनले मधेसी सपुतको रगतको बलिदानीले मधेसमा प्रदेश २ बनेकोले उनीहरुको नामबाट नै भौतिक संरचना बन्ने स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell