
अभिनेता भुवन केसीले आफूले फिल्म 'कुसुमे रुमाल'मा काम गरेको पारिश्रमिक अहिलेसम्म नपाएको बताएका छन्। उनले कमेडी सो 'ह्वाट द फ्लप'मार्फत् यस्तो खुलासा गरेका हुन्।
प्रस्तोता सन्दीप क्षेत्रीले गरेको 'तपाईंलाई कुनै निर्माताले पैसा दिन बाँकी छ?' भन्दै गरेको प्रश्नमा उनले भनेका छन्, 'कुसुमे रुमालकै पैसा मैले पाएको छैन। सुपर डुपर हिट फिल्मको पैसा अहिलेसम्म पाएको छैन,पाएको छैन।' उनले फिल्म निर्माताले फिल्म हल बनाए पनि आफ्नो पारिश्रमिक नदिएको सुनाएका हुन्।
कुसुमे रुमाल रजत जयन्ती मनाउने पहिलो नेपाली फिल्म हो। सन् १९८५ मा बनेको फिल्ममा भुवन केसीसँगै उदित नारायण झा तृप्ती नाडाकारको मुख्य भूमिका रहेको छ।
उदित नारायण झाले पनि फिल्मको पारिश्रमिकबारे बोलेका छन्। गत डिसेम्बरमा उनी इन्डियन आइडल १० को सेमी फाइनलमा अतिथिका रुपमा पुगेका थिए। त्यहाँ कुसुमे रुमालको पोस्टरसँगै उनले मुख्य अभिनेताको रुपमा काम गरेको कुरा सार्वजनिक भयो। कार्यक्रममा उनले फिल्मबाट १५ सय भारतीय रुपैयाँ मात्र पाएको सुनाउँदा सबै छक्क परे।
सयपत्री फिल्मसको ब्यानरमा बनेको कुसुमे रुमाललाई सुमित्रा पौडेलले निर्माण गरेकी थिइन्। फिल्मका निर्देशक तुलसी घिमिरे हुन्। फिल्मको सिक्वेल 'कुसुमे रुमाल २' सन् २००९ मा निर्माण भयो। फिल्मलाई निरक पौडेलले निर्देशन गरेका थिए।