PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चिनियाँ राजदूतको सक्रियता, यस्तो छ उच्चस्तरीय भेटको श्रृंखला



विधुर ढकाल

चिनियाँ राजदूतको सक्रियता, यस्तो छ उच्चस्तरीय भेटको श्रृंखला

काठमाडौं: महिना दिन अगाडि नेपाल आइपुगेकी चिनियाँ राजदूत होउ यान्छीले यो एक महिना उच्चस्तरीय भेटघाट तीव्र पारिन्।

राजदूत होउ गत डिसेम्बर २९ मा नेपाल आई ३० मा परराष्ट्र मन्त्रालयमा ओहोदाको प्रमाणपत्र पेश गरेकी थिइन्। त्यसयता उनले उच्चस्तरीय भेटवार्तालाई तीव्र बनाएकी हुन्।

आजै मात्र राजदूत होउले गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेट गरिन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उनले गृहमन्त्रीसँग भेट गरेकी हुन्।

भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे।

भेटका क्रममा गृहमन्त्री थापाले राजदूत होउ समक्ष चीनको विरुद्धमा नेपाली भूमिको प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरे।

गृहमन्त्री थापाले राजदूत होउ मार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

त्यस्तै राजदुत होउले गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो दिएकी छन्।

उच्चस्तरीय भेटको श्रृंखला

राजदूत होउले यसबीच प्रधानमन्त्रीदेखि नेपाल सरकारका मन्त्रीहरुसँगको भेटवार्ता गरेकी छिन्।

महिना दिन अगाडि नेपालका लागि चीनको राजदूतको रुपमा कार्यभार सम्हालेकी राजदूत होउले जनवरी ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी थिइन्।

लगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन्। आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत होउ प्रधानमन्त्री ओलीलाई भेट गर्न बालुवाटार पुगेकी थिइन्।

त्यसको भोलिपल्ट उनले परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरिन्। सोही दिन उनले परराष्ट्र सचिव शंकरदास बैरागीसँग पनि भेट गरेकी थिइन्।

त्यस्तै जनवरी १० मा राजदूत होउले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरिन्।

त्यस्तै जवनरी १४ मा चिनियाँ राजदूतले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरिन्। उनले जनवरी १८ मा उनले रक्षामन्त्री कृष्णबहादुर महरासँग भेट वार्ता गरिन्।

यसबीच उनले नेपालमा आयोजना भएको विभिन्न सांस्कृतिक कार्यक्रममासमेत सहभागि भएकी छिन्।

उनले नयाँ वर्षका दिन चिनियाँ कलाकारहरुको कन्सर्टमा सहभागि भएकी थिइन्। त्यस्तै उनले चिनियाँ कल्चरल सोसाइटीको कार्यक्रममासमेत रहभागी भइन्।

राजदूत होङले चिनियाँ लगानीमा सञ्चालित परियोजनाको अवलोकन भ्रमणसमेत गरेकी छिन्।

राजदूत होङले चिनियाँ लगानीमा सञ्चालित कृषि परियोजनाको अवलोकन गरिन्।

उनको कार्यकालको पहिलो महिना बेइजिङको  ताछु सियांयु च्यारिटी फाउन्डेसनकी अध्यक्षले नेपाल भ्रमण गरेकी छन्। फाउण्डेसनको सहयोगमा आनन्दकुटी स्कुलको भवन निर्माण हुँदै छ।

मंगलवार मात्र चिनियाँ राजदूत होउले चिनियाँ सहयोगमा निर्माण भएको चक्रपथको कोटेश्वर कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन्।

मंगलवार नै उनले नेपालका लागि युएनडीपीका प्रमुखसँग पनि उनले भेटवार्ता गरेकी छिन्।

चीनको विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागकी चार उपनिर्देशक मध्येकी यान्छीलाई चीनले नेपालको राजदूतको रुपमा गत महिना नियुक्त गरेको थियो।

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको चर्चा चलिरहँदा आफ्ना उच्च अधिकारीलाई चीनले राजदूतको रुपमा नेपाल पठाएर भ्रमणको तयारीको रुपमा थालेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell