PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

गण्डक नहरका २२ वटा पुल जीर्ण: पर्सादेखि वाग्मतीसम्मका यात्रीलाई सास्ती 



राधेश्याम पटेल

गण्डक नहरका २२ वटा पुल जीर्ण: पर्सादेखि वाग्मतीसम्मका यात्रीलाई सास्ती 

वीरगंज: पर्सा, बारा रौतहटको सिचाइको प्रमुख स्रोत गण्डक नहरको सबै पुल जीर्ण भइसकेका छन्। पर्साको जानकी टोलदेखि रौतहटको वाग्मतीसम्म ८१ किलोमिटर लम्बाइमा फैलिएको नहरको १४ वटा मुख्य पुल तथा अन्य ८ वटा कल्भर्ट र पुलेसा गरी २२ वटा पुल पूर्ण रूपले जीर्ण भइसकेको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिचाइ व्यवस्थापन कार्यालयले जनाएको छ।     

कार्यालय प्रमुख राजेन्द्र साहले २०२१/०२२ सालमा निर्मित गण्डक नहरको पुलको आयु सकिसकेकोले कुन बेला ठुलो दुर्घटना होला भन्ने चिन्तामा प्राविधिक रहेको बताए। उनले पर्सा, लिपनीबिर्ता–मनियारी जोडने श्रीसिया खोलाको पुलको पूर्वको र बारा नकटुवास्थित बंगरी खोलाको स्ल्याब तथा पिलर धसिसकेको बताए। अन्य पुलका पाया, स्ल्याब, र्‍यालिगलगायत भौतिक संरचनामा क्षति भइसकेको जनाइएको छ।

सर्वसाधारणले जोखिम मोलेर यात्रा गरिरहेको अवस्थामा सरकारबाट पुलको निर्माण तथा मर्मत सम्भारमा कुनै पहल नभएको स्थानीयवासी बताउँछन्। उनीहरूले सरकारले चाँडै बजेट छुट्याई पुरानो पुल हटाई नयाँ पुल बनाउन माग गरेको वीरगंज–२२ मनियारीका वडाध्यक्ष ग्यासुद्दिन अन्सारीले बताए।

यस विषयमा नारायणी सिंचाइका प्रमुख साहले जीर्ण अवस्थामा पुगेका पुलबारे प्रतिवेदन लेखी सिंचाइ मन्त्रालयमा पठाइसकेको तर हालसम्म बजेट नआएकोले पुल भत्काएर बनाउने कि मरम्मतमात्र गर्ने यकिन हुन नसकेको स्पष्ट पारे। उनका अनुसार पर्साको ओरिया, सिकटा, गंगोल, धुतहा, नौरंगिया, तिलावे, श्रीसिया, बाराको बंगरी, पसाहा, भुतहा, अरूवा, लालबकैया, भकुवा, वाग्मती गरी १४ वटा पुल पुनः निर्माण गर्नुपर्ने प्रतिवेदन पठाएको बताए। साथै मुख्य पुलमुनिको साइफन, कल्भर्ट तथा साना पुलेसा पनि नयाँ बनाउनुपर्ने कार्यालयले बताएको छ।

कार्यालयका अनुसार एउटा पुल र साइफन बनाउँदा आज कम्तीमा २५ देखि ३० करोड रुपैयाँ बजेट चाहिने भएकोले नेपाल सरकार यस विषयमा गम्भीर बन्नुपर्ने देखिन्छ। २२ वटै पुल बनाउनुपर्‍यो भने कम्तिमा रु ५ अर्बको बजेट चाहिने प्राविधिकहरूले बताएका छन्। 

पर्साका अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले पर्सादेखि रौतहटसम्मको गण्डक नहरको बाटो सरकारले हाल कालोपत्रे गरी तीन जिल्लाको यातायातमा सहजता थप्ने योजना अघि सारेकोले पुल त्यसमा छुटेको बताए। भारतको सहयोगमा  नहर संरचना तथा पुल बनेकोले आफैं नसके मदत लिएर भएपनि नहरको जीर्णोद्धार जरूरी रहेको बताएका छन्।शुरुमा गण्डक नहरको मरम्तको लागि सिचाइ व्यवस्थापन कार्यालयको मात्र सवारी साधन गुडथे भने हाल गण्डक नहरको बाटो पर्सा देखि रौतहट सम्म मुख्य बाटोको रुपमा प्रयोग हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell