PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डा.केसीलाई कांग्रेसले उचालेको सरकारको आरोप, 'जसले बोकेको हो, उसैले अवतरण गरोस्'



बीपी साह

डा.केसीलाई कांग्रेसले उचालेको सरकारको आरोप, 'जसले बोकेको हो, उसैले अवतरण गरोस्'

काठमाडौं: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्दै आएका डा.गोविन्द केसीलाई सरकारले ५ सुझाव दिएको छ।

डा. केसीको माग पुरा भएको भन्दै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ५ सुझाव दिए।

विहीबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले दिएका पाँच सुझाव यस्ता छन्।

१) डा.केसीको माग पुरा भएकोले खुशियालीमा अनशन छोड्ने।

२) डा. केसीले उक्साउन खोज्नेहरुको भ्रमबाट मुक्त हुने।

३) डा.केसीलाई उक्साउनेहरुले पनि त्यो काम नगर्ने।

४) डाक्टर सा'बलाई टक्क पारेर चिसो मौसममा तातो खुवाएर स्वस्थ्य बनाउने।

५) यो पारित भएको विधेयकलाई कार्यन्वयन गर्न डाक्टर सा'बले अगुवाई गर्दै जनताको बिचमा सिटामोल बोकेर जाने।

पत्रकार सम्मेलनमा संसदको दुबै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै अब डा.केसीको अनशन के हुने भन्दै पत्रकारहरुले प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ दिदै प्रवक्ता बाँस्कोटाले यी ५ वटा सुझाव दिए।

उनको मुख्य सुझाव अनशन छोडेर ऐन कार्यन्वयनतर्फ लाग्नु पर्ने थियो।

 

कांग्रेसलाई मलहमपट्टी लगाउन सक्दैन

डा.केसीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उचालेको आरोप लगाउँदै प्रवक्ता बाँस्कोटाले केसीलाई उचाल्न छोड्नु पर्ने बताए।

‘संसदको दुईवटै सदनले विधेयक पारित गरिसकेको छ। अनशनको औचित्य समाप्त भएको छ। यसै नाममा जुन कुराका कारणले केही विषयलाई प्रतिपक्षीले उठाउनु भएको छ, संसद अवरुद्ध गर्नु भएको छ। म यहाँहरुलाई दवासाथ भन्न चाहन्छु, १६ पटक अनशन बस्दा वार्ताका लागि इनिसिएसन लिने काम केपी ओलीले गरेका थिए,’ प्रवक्ता बाँस्कोटाले भने।

कांग्रेसको मागसमेत पुरा भइसकेको उल्लेख गर्दै बाँस्कोटाले संसदीय प्रक्रियालाई बन्धक बनाउन नहुने तर्क गरे।

‘पश्चिम ताकेर पूर्व हिर्काउने तरिका स्वीकार्य हुँदैन र दुईवटा प्रस्तावित अस्पतालका विषयमा पनि माग थियो प्रमुख प्रतिपक्षीको ती माग पनि पुरा भइसक्यो।’ प्रवक्ता बाँस्कोटाले भने, ‘तर अब केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन र त्यसै नाममा बारम्बार अधिनायकवादी भन्ने, दुई तिहाईको दम्भ भन्ने कुरा पनि उचित होइन।’

कांग्रेस अहिले सत्ता गुमाउनु परेको पीडामा रहेकोले त्यसको मलहम सरकारले लगाउन नसक्नेसमेत बाँस्कोटाले बताए।

‘यस्ता विषय कांग्रेसको कुण्ठा हुन सक्छ तर्क हुन सक्दैन। आफ्नो दुईतिहाई नआएकोमा वा आफूले सत्ता गुमाउनु परेकोमा पीडा हुन सक्छ। त्यसको मलहम पटी अहिलेको सरकारले लगाउन सक्दैन,’ उनले भने, ‘जनताले लगाइ दिन्छ। बेला आएपछि, प्रक्रिया आएपछि। पत्याएमा।’

डा केसीलाई जसले बोकेको हो उसैले अवतरण गर्नुपर्ने बाँस्कोटाको भनाइ थियो। ‘यसमा बारम्बार सरकारप्रति औला ठड्याइ राख्ने आवश्यकता छैन। जजसले उहाँलाई बोक्नु भएको छ। जसले यो अन्धाधुन्दसित बस्ने ठाउँको ठेगान नभएर जहाज उडाउनु भएको छ। उहाँहरुले त्यसको अवतरण गराउनु पर्नेछ।’ उनको सुझाव थियो, ‘माग त पुरा भइसक्यो। मुद्दा सकिएपछि कांग्रेसले अब के गर्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell