
काठमाडौँः पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एक हुने भएको छ। बिहीबार दुई दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच एकता घोषणा गरिनेछ।
एकीकृत पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने सहमति दुई दलबीच भएको छ। वर्तमान अध्यक्षद्वय राणा र लोहनीको पदीय हैसियत बराबर हुनेगरि दुई दल एकीकृत हुन लागेका हुन्। पार्टीमा तत्कालका लागि दुई अध्यक्ष नै रहनेछन्।
एकीकरणपछि पनि दलको चुनाव चिह्न हलो हुनेछ।
कमल थापाले नेतृत्व गरेको राप्रपासँग एकता प्रक्रिया रोकिएपछि दुई पार्टीमात्र एकीकरण गर्न लागेका हुन्। राजतन्त्रको विषयमा कुरा नमिल्दा तीन दलको एकता प्रक्रिया अघि बढ्न सकेको थिएन।
एकीकृत पार्टीलेले भने धार्मिक स्वतन्त्रतासहितको हिन्दु धर्म र राजसंस्थाको परिकल्पना गरेको छ।