
सुर्खेतः वीरेन्द्रनगरमा निर्माणाधीन फोरलेन सडक अन्तर्गतका दुई वटा पुलको डिजाइन फल्ट देखिएको छ। धुलियाबिट–बांगेसिमल सडकखण्ड अन्तर्गत खोर्केखोला र इत्राम खोला पुलको डिजाइनमै फल्ट देखिएको हो। सडक डिभिजन कार्यालय सुर्खेतले पुलको डिजाइन गरी निर्माण कार्य अघि बढाएको थियो। डिजाइनमा त्रृटि भेटिएपछि काममा अन्योलता बढेको छ। निर्माण कम्पनीले रि–डिजाइन गर्नुपर्ने माग अघि सारेको छ।
निर्माण कम्पनी आशीष, श्याम एण्ड शंकर जेभीका प्रतिनिधि पदमबहादुर खड्काका अनुसार पुलको दायाँबायाँ फराकिलो बनाउनुपर्ने भएकाले पुलमुनिको फाउण्डेशनले काम गर्न समस्या भएको बताए। ‘इत्राम र खोर्के खोला पुल फराकिलो बनाउँदा पुलमुनिको फाउण्डेशनले काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘सडक अनुसारको पुलको क्षेत्रफल थप गर्दा फैलावट जगको फाउन्डेशन तोडमोड गर्ने स्थिति रहदैन्।’
निर्माण कम्पनीले पुलको काम धमाधम गरिरहेको छ। पाँच पुलको जिम्मा लिएकोमा तिन वटाको काम भइरहेको छ। पुलको डिजाइन सडक डिभिजन कार्यालय सुर्खेतले पारेको थियो।
सडक डिभिजन कार्यालय सुर्खेतले पुराना भएका पुलमा पुनः नयाँ जोइन्ट गर्नुपर्ने हुँदा समस्या भएको जनाएको छ। ‘पुराना भएका पुलमा नयाँ जोइन्ट गनुपर्ने हुँदा फाउन्डेशनमा समस्या देखिएको हो,’ कार्यालयका सव–इन्जिनियर रेसम ओलीले भने, ‘पुनः परिमार्जनसहितको डिजाइनको गृहकार्य सुरु गरिएको छ।’
तोकिएको समयमा निर्माण सक्नेगरी तत्काल डिजाइन सच्याउन लागिएको उनले बताए।