PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी र ने क पाबीच साझेदारीको समझदारी, उपराष्ट्रपतिसँग पूर्वप्रधानमन्त्री नेपालको भेट



पहिलोपोस्ट

लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी र ने क पाबीच साझेदारीको समझदारी, उपराष्ट्रपतिसँग पूर्वप्रधानमन्त्री नेपालको भेट

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लाओासका उपराष्ट्रपति फांखाम भिफाभान्हसँग भेटवार्ता गरेका छन्। ने क पाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लाओस पुगेका नेता नेपालसहितको प्रतिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपतिसँग आज त्यहाँको राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको ने क पाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 

भेटका अवसरमा उपराष्ट्रपति भिफाभान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरू दुवै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीव्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिए। 

उनले भने, ‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलश्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ। हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ। छिमेकी र अरू ठुला मुलुकहरूले हाम्रो जलविद्युतमा लगानी गरिरहेका छन्।’
 
नेपालमा दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरूलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति भिफाभान्हले नेपाली जनताको जीवनस्तर उकास्न ने क पाको सरकार सक्षम हुने विश्वास व्यक्त गरे। 

पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठुला विकास परियोजनाका लागि लाओसको अनुभव आफूहरूलाई उपयोगी हुने  बताए। ‘हामी दुवै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ। हामीसँग पुँजी र प्रविधि कम छ,’ नेता नेपालले अगाडि भने, ‘यस्तो अवस्थामा तपाईँहरूले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ।’ 

भेटमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्टिय मञ्चहरूमा गर्दै आएको सहकार्यको स्मरण गर्दै वरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदाभन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको बताए। 

यसै गरी, लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा हिजो नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच पार्टीगत वार्ता भएको थियो। लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने समझदारी भएको थियो। 

वरिष्ठ नेता नेपालको नेतृत्वमा बिहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी सहभागी छन्। 

प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell