PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

निर्माणाधिन फोरलेन सडकका २ पुल डिजाइनमै फल्ट, रि-डिजाइन गर्नुपर्ने निर्माण कम्पनीको माग



पी बी खड्का

निर्माणाधिन फोरलेन सडकका २ पुल डिजाइनमै फल्ट, रि-डिजाइन गर्नुपर्ने निर्माण कम्पनीको माग

सुर्खेत: राजधानी सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडक अन्तर्गतका निर्माणाधिन क्रममै रहेका दुई वटा पुलको डिजाइन फल्ट देखिएको छ। धुलियाविट–बांगेसिमल सडक खण्ड अन्तरगत खोर्केखोला र इत्राम खोला पुलको डिजाइनमै फल्ट देखिएको हो। सडक डिभिजन कार्यालय सुर्खेतले पुलको डिजाईन गरी निर्माण कार्य अघि बढाएको थियो। अहिले निर्माण कार्यको काम अन्यौलता रहेको भन्दै निर्माण कम्पनीले रि–डिजाइन गर्नुपर्ने माग अघि सारेको  छ।  


निर्माण कम्पनी आशिष, श्याम एण्ड शंकर जेभीका प्रतिनिधि पदमबहादुर खड्काका अनुसार पुलको दायँबाँया फराकिलो बनाउनुपर्ने भएकाले पुलमुनिको फाउण्डेशनले काम गर्न समस्या भएको उनी बताउँछन्। ‘इत्राम र खोर्के खोला पुलको दायाँबायाँ फराकिलो बनाउँदा पुलमुनिको फाउण्डेशनले काम गर्न असजिलो भएको छ।’ उनले भने,‘सडक अनुसारको पुलको क्षेत्रफल थप गर्दा फैलावट जगको फाउडेशन तोडमोड गर्ने स्थिति रहदैन।’


हालकै डिजाईनमा काम गर्न नसकिने भन्दै निर्माण कम्पनीले रिडिजाइनका लागि सडक डिभिजन कार्यालयमा आग्रह गरिएको उनले बताए। ‘अहिलेकै डिजाइनमा पुलको काम गर्न सकिदैँ।’ उनले भने,‘पुलको रि–डिजाइनका लागि हामीले सडकलाई पत्र लेखिसकेका छौँ। जति सक्यो छिटो परिमार्जन सहितको डिजाइन आउँछ त्यत्ति छिटो काम अघि बढ्छ।’


निर्माण कम्पनीले पुलको काम पायल प्रविधिबाट अघि बढाएको छ। कम्पनीले जिम्मा लिएको पाँच पुल मध्ये तिन पुलको काम धमाधम अघि बढाएको छ। पाँच वटै पुल सडक डिभिजन कार्यालय सुर्खेतले डिजाइन तयार पारेको थियो।


पाँच मध्ये तिन वटा पुलको जमिनमुनिको पायल गर्ने काम सकिएको भन्दै सकेसम्म निर्धारित समयमै सक्ने लक्ष्य सहित काम गरेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताए। 


यता, सडक डिभिजन कार्यालय सुर्खेतले पुराना भएका पुलमा पुनः नयाँ जोइन्ट गर्नुपर्ने हुँदा समस्या भएको जनाएको छ। ‘पुराना भएका पुलमा नयाँ जोइन्ट गनुपर्ने हुँदा फाउण्डेशनमा समस्या देखिएको हो।’  कार्यालयका सव–इन्जिनियर रेशम ओलीले भने,‘पुनः परिमार्जन सहितको रि–डिजाइनको गृहकार्य सुरु गरिएको छ।’


अब नयाँ शीराबाट काम अघि बढाउने गृहकार्यमा जुटेको उनले बताए।   ‘जमिनमाथिकै काम गर्दा कतिपय बिग्रन्छ भने, त्यो त जमिनमुनिको हो कहिले काँही बिग्रिहाल्छ।’ उनले भने,‘अब नयाँ शीराबाट काम अघि बढाउने गृहकार्यमा जुटिसकेका छौँ।’


तोकिएकमै समयमा निर्माण कार्य सक्ने गरी काम गरेको भन्दै आफुहरु पनि तत्काल डिजाइन सच्याउन लागेको जनाएका छन्। निर्माणाधिन फोरलेन सडकमा पाँच वटा पुल निर्माणका क्रममा छन्। उक्त पुल झण्डै ३९ करोडको लागतमा पायल प्रविधिबाट निर्माणको चरणमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell