
काठमाडौँ: फिल्म क्याप्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ। अनमोल केसी अभिनित फिल्मको ट्रेलरमा देशको लागि गोल्ड मेडल जित्न चाहने एक युवाको फुटबल खेलप्रतिको प्रेम र जिवनमा आएका उतारचढावलाई देखाउन खोजिएको छ।
आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा अनमोलसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नव-अभिनेत्रीहरु प्रियांका एमभी र उपसाना सिंह ठकुरी चरित्र भुमिकामा देखिएका छन्। सुपर काजोल फिल्मसको यो ८ औं फिल्म हो। फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्।
फिल्ममा सरोज खनाल, किरण केसी, राजाराम पौडेल, विल्सन क्रम राई, सलोन बस्नेतलगायतको अभिनय छ। वास्तविक कोच पूर्व रार्ष्ट्रिय फुटबल खेलाडी हरि खड्का, अमनप्रताप अधिकारी, सुशील नेपाल फिल्ममा अतिथि भुमिकामा देखिएका छन्।
निर्देशनको हिसाबले दीवाकरको यो चौंथो फिल्म हो। उनले 'ऐश्वर्य'बाट निर्देशनमा प्रशंसा बटुलेका थिए। फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन्। फिल्ममा अभिनेत्री निरुता सिंहको पनि अतिथि भुमिका छ। निरुताले पहिलो फिल्म नै भुवन केसीसँग गरेकी थिइन्। उनले भनिन् 'पहिलो फिल्म दक्षिणा भुवन दाइसँग गरेको थिएँ। २५ वर्षपछि भुवन दाइ र अनमोलसँग यो फिल्ममा काम गर्न पाएँ।'
त्यस्तै, अनमोलले फिल्मका लागि धेरै मिहिनेत गरेको बताए। उनले भने 'जहाँसम्म मलाई लाग्छ, यो फिल्ममा धेरै प्रयास गरेको छु, फुटबल खेलाडीको भुमिका निभाउन। मिहिनेत पनि धेरै गरेको छु।'
पछिल्लो समय फिल्मका केही कलकारले 'क्याप्टेन'बाट पारिश्रमिक नपाएको गुनासो गरेका थिए। ट्रेलर सार्वजनिक कार्यक्रममा भुवनले यसबारे भने 'मैले मेरो कलाकारलाई पनि सोधें। तर,अब हाम्रो फिल्म नचलोस् भनेर केही व्यक्तीहरुले यस्तो गरिरहेका छन्। आजसम्म मेरो फिल्ममा काम गरेकालाई सबै पैसा दिएका छौं।'
विश्व फुटबलको क्याप्टेन कसलाई मान्नुहुन्छ?
अनमोलले भने 'म मेस्सीको ठूलो फ्यान हुँ। किनकी म केसी हुँ।'
फिल्ममा दीवाकर, सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन छ।