काठमाडौँ: अभिनेता भुवन केसीले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा 'कुसुमे रुमाल'को पारिश्रमिक नपाएको कुरा खुलासा गरेका थिए। उनले भनेका थिए 'कुसुमे रुमालकै पैसा मैले पाएको छैन। सुपर डुपर हिट फिल्मको पैसा अहिलेसम्म पाएको छैन,पाएको छैन।'
किन भुवनले दुई दशकभन्दा अगाडि रिलिज भएको फिल्मको पारिश्रमिक पाएनन् त?
तर भुवनले पारिश्रमिक नपाउनुको कारण भने रोचक रहेछ। कलाकार केसीले राम्रो भूमिका पाएका कारण उनले पारिश्रमिकमा चासो नदिएको बताए। करियरको सुरुवाती दिन सम्झँदै भने 'सही कुरा हो, मैले फिल्मबाट पारिश्रमिक पाएको छैन। कुनै फिल्ममा राम्रो भूमिका भयो भने कलाकारले पारिश्रमिक हेर्दैन। मैले गुनासो नै गरेको थिइन। राम्रो भूमिका भएर पनि मैले पैसा पाएन भन्ने कुरा कार्यक्रममा गरेको थिएँ। मैले अहिलेसम्म पनि पैसा पाएको छैन, पैसाको कुरा भएन मैले त्यो फिल्मबाट मेरो करियर सुरु गरेको थिएँ।'
पछिल्लो समय भुवनले निर्माण गरेको फिल्म 'क्याप्टेन'का केही कलाकारले पारिश्रमिक नपाएको गुनासो गरेका थिए। पारिश्रमिकको गुनासो चर्चाको विषय पनि बन्यो। तर, भुवनले भने आफूले सधैँ कलाकारको फुल पेमेन्ट गर्दै आएको दाबी गरे।