PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

काम गर्न बसेको किशोरले खुकुरी हानी गरे घरवेटीको हत्या



रासस

काम गर्न बसेको किशोरले खुकुरी हानी गरे घरवेटीको हत्या

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ। यही माघ १४ गते राति थापाको हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो। मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन्। घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन्। बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए। 

मगरको भनाइ उद्धृत गर्दै प्रहरी प्रवक्तासमेत रहेका  रेग्मीले भने, “राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो”, मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ। उनले थापाको हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बताएको उनले जानकारी दिए। 

समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताए। दश महिनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो। छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए। घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका मगरले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो। 

थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो। थापाको श्रीमान समेत घरमा नरहेको बेला ती किशोरले उनको हत्या गरेका थिए। घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए/नभएको अनुसन्धान भइरहेको रेग्मीले बताए। अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell