PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सांसद भेट्न प्रधानमन्त्रीसँग समय छैन : मन्त्रीसँग सम्बन्ध राम्रो राख्न दिए सुझाव



बीपी साह

सांसद भेट्न प्रधानमन्त्रीसँग समय छैन : मन्त्रीसँग सम्बन्ध राम्रो राख्न दिए सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका राष्ट्रिय सभा सदस्यहरुले धेरै मेहनत गरेपछि शुक्रबार बल्ल बल्ल भेट्न पाए।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरुलाई केही मिनेटमात्रै प्रधानमन्त्री ओलीले भेटे।


संसदको हिउँदे अधिवेशन अघिदेखि नै नेकपाको राष्ट्रिय सभाको संसदीय दलको बैठक बस्न सकेको छैन। र, राष्ट्रिय सभा सदस्यहरुले आ–आफ्ना गुनासो पनि राख्न पाएका छैनन्। प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड भ्रमण जानुअघि दलको बैठक बोलाउने प्रयास भए पनि त्यसले सार्थकता पाएन। 


लामो समयको प्रयासपछि हिजो बालुवाटार पुगेका सांसदहरुले आफ्नो कुरा राख्न भने पाएनन्।


प्रधानमन्त्री ओलीको समय अभाव भएको कारण सांसदहरुको गुनासो सुन्न नसक्ने जानकारी दिइएपछि सांसदहरुको तर्फबाट दलका नेता दिनानाथ शर्माले गुनासोहरु राखेका थिए।


प्रधानमन्त्रीसँगको भेटमा सांसदहरुको तर्फबाट नेता शर्माले भने, ‘राष्ट्रिय सभाको संसदीय दलको बैठक नियमित गर्नु पर्यो। बैठक नबस्दा हामीले हाम्रा गुनासो राख्न पाएका छैनौं।’


पार्टीमा राष्ट्रिय सभा सदस्यहरुको भूमिकालाई अनदेखा गरिएको भन्दै नेता शर्माले भनेका थिए, ‘आफ्नै पार्टी सरकार छ तर हाम्रो कुनै काम हुँदैन। मन्त्रीको गेटमा गएर कुर्नुपर्छ। हामीसँग न त बजेट छ न त मन्त्रालयमा कुनै काम।’
नेता शर्माको कुरा सुने पछि प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।


‘आउँदो बजेटको बेला राष्ट्रिय सभाका सांसदहरुको बारेमा पनि विचार गर्छौ। अहिले तत्कालै केही गर्न सक्ने अवस्था छैन,’ बैठकमा सहभागी एक राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘मैले मन्त्रीहरुलाई भनिसकेको छु। तपाईँहरुको कुरा सुन्न र काम गर्न। अहिले केही फरक पाउनु भएको होला। मैले निर्देशन दिएपछि मन्त्रीहरुको ढोकामा कुर्न नपरेको होला तपाईँहरुलाई।’ 


बैठकमा सहभागी अर्का सांसद कोमल वलीका अनुसार प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक नियमित गर्ने जानकारी सांसदहरुलाई दिए।
‘अब संसदीय दलको बैठक नियमित हुन्छ भन्नुभएको छ। तपाईँहरुको मन्त्रालयमा अब काम हुन्छ। तपाईँहरुले मन्त्रीहरुसँग राम्रो सम्बन्ध राख्नुस् भन्ने सुझाव प्रधानमन्त्रीज्यूले दिनुभयो।’ पहिलोपोस्टसँग सांसद ओलीले भनिन्, ‘राष्ट्रिय सभाका सदस्यहरु विज्ञ समूह भएकाले त्यही बमोजिम काम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो।’ 


प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए। पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले भनेका थिए। 


पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको बताउँदै प्रधानमन्त्री ओलीले अब चाँडै प्रक्रियाले अन्तिम रुप लिने दावी सांसदहरु समक्ष गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell