
कप्तान लियोनल मेसीले दुई गोल फर्काएपछि बार्सिलोनाले भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
दुई गोलले पछि परेको अवस्थामा घरेलु मैदानमा मेसीले पेनाल्टीमार्फत दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए। मेसीले दुवै हाफमा १-१ गोल गरेका थिए।
केभिन गमेइरोले २४औँ र डानी परेजोले ३२औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई २-० को अग्रता दिलाएका थिए।
तर मेसीले ३९औँ मिनेट र ६४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि बार्सिलोना अंक खोस्न सफल भयो।
बराबरिपछि २२ खेलबाट ५० अंकसहित बार्सिलोना शीर्ष स्थानमै छ। एक खेल कम खेलेको एट्लेटिको मड्रिड ४४ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंक रहेको रियल तेस्रोमा छ।
उता चौथो स्थानको सेभिया भने सेल्टाभिगोसँग १-० ले पराजित भएको छ। हारपछि सेभियाले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। सेभियाको २२ खेलबाट ३६ अंक छ।