PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कंसकारसँग 'लफडा' भएका लिम्बुलाई फेरि निगममा ल्याउने तयारी,  आन्तरिक उडानमा स्थायी समाधान खोजिँदै



वसन्तराज उप्रेती

कंसकारसँग 'लफडा' भएका लिम्बुलाई फेरि निगममा ल्याउने तयारी,  आन्तरिक उडानमा स्थायी समाधान खोजिँदै

काठमाडौँः पाइलट अभावका कारण आन्तरिक उडान अस्तव्यस्त भएपछि नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बुलाई पुनः नियुक्त गर्ने भएको छ।

वरिष्ठ क्याप्टेन लिम्बुसँगै थप क्याप्टेन नियुक्तिका लागि निगम अहिले स्थायी समाधान गर्न विशेष छलफलमा रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए।

खरेलका अनुसार, वरिष्ठ क्याप्टेनको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आन्तरिक उडानमा लिम्बु नियुक्त भएपछि डेढ महिनाको तालिम दिने योजना रहेको खरेलले बताए।

लिम्बुसँग सन् १९८० देखि सन् २०१२ सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको अनुभव रहेको छ। उनी निगमका पुर्व प्रवन्ध निर्देशक पनि हुन्। लिम्बु र अहिलेका प्रबन्ध निर्देशक सुगतरत्न कंसकारबीच त्यसबेला कार्यकारी भूमिका कसले निर्वाह गर्ने भनेर लफडा भएको थियो। त्यसबेला कंसकार निगममा अध्यक्ष थिए।

उड्डयन क्षेत्रमा ३२ वर्ष अनुभव सगालेका लिम्बुलाई पुनः निगमको आन्तरिक सेवामा नियुक्त गर्दा निगमको क्षमता विस्तारमा सुधार आउने बताउँदै खरेलले भने, 'उड्डयन क्षेत्रमा उहाँ सिनियर हुनुहुन्छ। आन्तरिक उडानका लागि लाखौँ रुपैयाँ खर्च गरेर विदेशी क्याप्टेन ल्याउनुभन्दा त उहाँलाई नै नियुक्त गर्दा सेवा प्रभावकारी हुने देखिन्छ।'

चालक नहुँदा नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान दुई सातादेखि प्रभावित भएको छ। चिनियाँ जहाज उडानमा निगमसँग रहेका तीनजना पाइलट हाल काममा नरहेको कारण निगमसँग उडान योग्य चारवटा चिनियाँ जहाज ग्राउण्डेड छन्।

हाल चिनियाँ जहाज उडानका लागि निगममा नृपेन्द्र भट्टराई, सञ्जय वादे र आङनुरी शेर्पा लगायत क्याप्टेन कार्यरत छन्। स्रोतका अनुसार दुई सातादेखि क्याप्टेन भट्टराई र क्याप्टेन वादे 'सिक रिपोर्ट' बुझाएर बिदामा बसेका छन्। क्याप्टेन शेर्पाको भने पिपिसी 'पाइलट प्रोफिसियन्सी चेक' गर्नका लागि चीनमै इन्स्ट्रक्टर नभएपछि जहाज उडान गर्न नपाएको स्रोतले जानकारी दिएको छ। 

'जहाज मुलुक र संस्थाको हितको लागि ल्याइन्छ। शोकेशमा राख्नका लागि होइन। वर्षौँदेखि थन्किएर बसेका चिनियाँ जहाज उडान योग्य बनाइयो र केहि महिना प्रतिफल पनि सकारात्मक थियो। तर पछिल्लो समयमा प्राय सबै चिनियाँ जहाज उडान योग्य रहेपनि क्याप्टेनको अभाव भइरहेको छ। आन्तरिक उडानका लागि हामी स्थायी समाधानतर्फ लागि परिरहेका छौँ' खरेलले भने।

निगमसँग अहिले आन्तरिक उडानका लागि दुईवटा एमए ६० र चार वटा वाइ १२ लगायत ६ वटा चिनियाँ जहाज छन् भने तीनवटा ट्विनअटर छन्। ६ वटा चिनियाँ जहाजमध्ये तीनवटा १६ वाइ १२ उडान योग्य छन् र मर्मतका क्रममा रहेको एउटा वाइ १२ केही सातामै रिलिज हुने स्रोतले बताएको छ।

स्रोतका अनुसार निगमसँग भएको दुई वटा ५४ सिटे एमए ६० मध्ये एउटा 'टु यर्ली' चेकका लागि राखिएको छ भने एउटामा प्राविधिक समस्या आएर मर्मतका लागि ग्राउण्डेड गरिएको छ।

निगमसँग भएको तीनवटा १९ सिटे ट्विनअटरमध्ये एउटा मर्मतका लागि र एउटा लामो समयदेखि ग्राउण्डेड रहेको स्रोतले जानकारी दिएको छ। एउटा ट्विनअटरले भने भोजपुर, फाप्लु र दाङ उडान भर्दै आएको स्रोतले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell