'द फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज(फ्वाइस)'ले आगामी छ महिनासम्म कलाकार आलोक नाथसँग कुनैपनि सम्बन्ध नराख्ने भएको छ। टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि आलोकले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनीसँग फ्वाइसले कुनै पनि सम्बन्ध नराख्ने घोषणा भएको हो।
पछिल्लो समय आलोकले घट्नाको खोज अनुसन्धान गर्न इन्कार गरेपछि भारतको फिल्म र टेलिभिजन निर्देशक संघसँग आवद्ध रहेको 'फ्वाइस'ले यस्तो निर्णय लिएको हो। संघका अध्यक्ष अशोक पण्डितले भनेका छन् 'हामीले यौन दुर्व्यवहारको विषयलाई गम्भिर रुपले लिएका छौं। विनिता संघकी सदस्यसमेत हुन्।'
'संस्कारी'बावुका रुपले परिचित आलोक केहिमहिनाअघि 'टेलिभिजन कलाकार संघ'बाट निकालिएका थिए। ‘मि टु क्याम्पियन’मा सहभागी हुँदै विनिताले लामो समयपछि यौन दुर्व्यवहारबारे बोलेकी थिइन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त घट्नाबारे लेखेकी थिइन् -‘मलाई एउटा पार्टीमा बोलाइएको थियो। उनकी श्रीमती र मेरो मिल्ने साथी शहरबाट बाहिर थिए। थियटरका साथी पनि पार्टीमा थिए। रातिको २ बजे, म घर फर्कें। म बाहिर निस्कें। मेरो छेउमा एकजनाले कार रोकियो, घर पुर्याइदिन्छु भनेर। त्यसपछि मलाई जबरजस्ती रक्सी खुवाइयो। त्यसपछि के भयो मलाई थाहा छैन। तर, बिहान उठ्दा मलाई दुखाई महसुस भयो। तब मलाई थाह भयो मेरो बलात्कार भयो भनेर। त्यतिखेर, १९९४ को चर्चित टेलिश्रृङ्खला ‘तारा’को काम गर्दै थिएँ। मलाई यो स्थितिबाट निस्कन २० वर्ष लाग्यो।’
आलोक त्यतिखेर चर्चित कलाकार थिए। विनिता उनको विरुद्ध जान सकिनन्। विनिताले सामाजिक सञ्जाल फेसबुको पोस्टमा बलात्कारीको नाम भने खुलाएकी थिइनन्। तर, उनले ‘संस्कारी’ शब्द इंगित गरेपछि आरोप सिधै आलोकतर्फ तेर्सिएको थियो।