PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

'१० वर्षीया रुमतीको सामूहिक बलात्कार, त्यसपछि घाँटी थिचेर हत्या, अनि सिङ्गिया खोलाबाट बगाइदिए'



अनन्तराज न्यौपाने

'१० वर्षीया रुमतीको सामूहिक बलात्कार, त्यसपछि घाँटी थिचेर हत्या, अनि सिङ्गिया खोलाबाट बगाइदिए'

विराटनगर: दुई अभियुक्तमध्ये २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारी लागु औषध नाइट्रोसनको प्रयोगकर्ता थिए, घटना भएको दिन पनि उनले सीमापारीको जोगबनी बजार गएर ५ वटा नाइट्रोसन ट्याब्लेट खाएका थिए।

अर्का अभियुक्त १९ वर्षीय चन्दु महतोको बानी रक्सी खाने। माघ १२ को साँझ उनी मातेरै घर पुगेका थिए। दुबैको घर विराटनगर ८, बलुवाही, सिङ्गिया खोलाको किनारमा।

अब्बास र चन्दुको साँझमा भेट भयो। चन्दुले आफूमा यौनेच्छा जागेको बतायो। अब्बासले यसको उपाय छ भन्यो।

विराटनगर– ८ बलुवाहीकी १० वर्षीया नाबालिका रुमती दास छिमेकीको घरमा टेलिभिजन हेर्न जाँदै थिई, उनीहरूले मौका छोपे। एउटाले रुमतीलाई बोक्यो, अर्काले मुख थुनिदियो।

करिब एक सय मिटर दक्षिण एउटा झाडीमा पुर्‍याए र बलात्कार गरे, अनि घाँटी थिचेर हत्या गरेपछि छेउकै सिङ्गिया खोलामा फालिदिए। रातको साढे ८ तिर उनीहरूले सुरु गरेको पाशविक व्यवहार सकिँदा ९ बजिसकेको थियो।

भोलिपल्ट बिहान साढे ६ बजे अब्बास लाश हेर्न खोलामा गयो, लाश अलि पर्तिर अड्केको रहेछ। उसले लाश घचेट्यो।

हिउँदको महिना खोलामा पानी थोरै बगेको थियो। घचेटेपछि खोलाले करिब १५० मिटर मात्र लाश बगाउन सकेछ। लाश फेरि एउटा ढिस्कामा अड्कियो।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार भोलिपल्ट १३ गते नै गाउँलेले खोलामा लाश भेटेको खबर कार्यालयमा आइपुग्यो। यसअघि सोही दिन रुमतीको हुलिया जाहेरी दर्ता भइसकेको थियो। मृतककी हजुरआमाले आफ्नी नातिनीको शरीर चिनिन्। गाउँलेले लाश खोला किनारमा ल्याएर सलले ढाके। प्रहरीले अनुसन्धानका लागि लाश जिम्मा लिँदा मुखबाट रगत बगेको, घाँटीमा कालो नील डाम देखिएको र यौनाङ्ग वरिपरि रगत जमेको देखिएको थियो।

लाश पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। प्रहरीले अन्य सङ्कलित भौतिक सबुतहरू परीक्षणका लागि विधि विज्ञान प्रयोशाला काठमाडौं र औषधि व्यवस्था विभागमा पठायो।

एसपी केसीका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्युको मुख्य कारण ‘थ्रोटिङ’ र ‘स्मोदरिङ’ भनेको छ। घाँटी थिचिएपछि यस्तो अवस्था हुन्छ। साथै पीडितमाथि ‘सेक्सुअल असल्ट’ भएको पनि पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

प्रहरीले १३ गते नै मृतक बालिकाको घरनजिकै चप्पल र १६ गते टोपी बरामद गरेको केसीले बताए। यसपछि घटनास्थलबाट बालिकाका अन्य लुगा पनि फेला पारिएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले बलुवाहीका २४ जनालाई सोधपुछ गरेको थियो।

‘हामीले घटनास्थल लगायतका देखी जान्ने, सुनी जान्ने व्यक्तिसँग सोधपुछ गर्यौँ। सबुतको खोजी र विश्लेषण गर्यौँ’, एसपी केसीले भने, ‘पहिचानका लागि निगरानी, खबर सङ्कलन र मिहिन ढङ्गले अध्ययन अनुसन्धान र विश्लेषण गरेपछि अब्बास र चन्दुलाई मुख्य अभियुक्त बनाएका हौँ।’

पक्राउ परेका दुबैलाई जबर्जस्ती करणी गरी ज्यान अपराध गरेको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell