
सुर्खेतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महिनामा ६२१ उजुरी परेको छ। चालू आव २०७५/७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ वटा फर्छ्यौट गरिएको छ।
चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। सङ्घीय मामिला अन्तर्गत १८८ उजुरी परेकामा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ। शिक्षा सम्बन्धी १८०, वन तथा वातावरणतर्फ ५८, ऊर्जा, जलस्रोत र सिँचाइका ५१, स्वास्थ्य तथा जनसङ्ख्याका ३९ र भौतिक पूर्वाधार तथा यातायातसम्बन्धी २९ उजुरी परेको सापकोटाले बताए।
त्यसैगरी खानेपानीसम्बन्धी २०, कृषि तथा पशुपंक्षी विकासमा १३, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा १४, गृहतर्फ १०, शहरी विकासमा सात, उद्योग, वाणिज्य तथा आपूर्तितर्फ पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनतर्फ तीन, सञ्चार तथा सूचना प्रविधितर्फ तीन तथा युवा तथा खेलकूदसम्बन्धी एउटा उजुरी परेको छ। जिल्लागत तथ्याङ्क अनुसार सुर्खेतबाट १३७, दैलेखबाट १०८, जाजरकोटबाट ८७, कालीकोटबाट ७०, जुम्लाबाट ४८, हुम्लाबाट ४२, रुकुम पश्चिमबाट ४०, सल्यानबाट ४३, मुगुबाट ३१ तथा डोल्पाबाट ११ उजुरी परेको सापकोटाले बताए।
“कार्यविधि एवं नियमसङ्गत काम नगरेका, बाटो, सडक, भवन, सिँचाइ तथा कुलो निर्माणमा भएका अनियमिततासम्बन्धी बढी उजुरी परेको छ,” उनले भने। शङ्का, रिसइवी र राजनीतिक पूर्वाग्रहका आधारमा पनि उजुरी पर्ने गरेको छ। उजुरी परे पनि तथ्य सावित गर्ने खालका प्रमाण नजुट्दा अनुसन्धानमा समस्या भएको सापकोटा बताउँछन् । चैत, वैशाख, जेठ र असारमा अत्यधिक उजुरी पर्ने गरेको छ। रासस