
सुर्खेतः जल तथा मौसमसम्बन्धी पूर्वसूचना दिने नेपालकै पहिलो मौसमी राडार केन्द्र कर्णालीमा बन्यो। राडार बन्दै गर्दा कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय सरकारले ग¥यो।
सरकारले गरेको यो निर्णयसँगै अहिले बनिसकेको राडार प्रयोगमा आउन सकेको छैन। सुर्खेतको रातानाङ्गला डाँडामा विश्व बैङ्कको ऋण तथा अनुदान सहयोगमा अमेरिकाको ‘इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशन कम्पनी’ले राडार केन्द्र निर्माण गरेको हो। झन्डै २ महिना अघि निर्माण कार्य सकेको निर्माण कम्पनीले राडार हस्तान्तरण गर्ने निकाय नपाउँदा अन्योलमा छ।
झन्डै १९ करोड लागतमा निर्माण कार्य सकिएको राडारसँग सम्बन्धित निकाय नहुँदा अहिले अलपत्र जस्तै बनेको छ।
राडार स्थलसम्मको पहुँचमार्ग निर्माण लगायतका सम्पूर्ण काम निर्माण कम्पनीले सकिसकेको छ। ३१५ मिटर लामो पहुँचमार्ग निर्माण गर्ने, राडार स्थल वरिपरि तारबार गर्ने, चौकीदार भवन बनाउने, गेट बनाउने काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि दलबहादुर बिसीले बताए।
ऊर्जा मन्त्रीको दबाबले अन्योल
गत असारमा सरकारले जल तथा मौसम विज्ञान विभाग मातहतका क्षेत्रीयस्तरका कार्यालयलाई यथावत् राख्ने निर्णय गरेको थियो। तर, ऊर्जा मन्त्री वर्षमान पुनको प्रस्तावमा गत असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय उल्ट््याएर क्षेत्रीय हावापानी कार्यालय कोहरलपुर सार्ने निर्णय गरेपछि अहिले अन्योलता बल्झिएको छ।
यो निर्णयले अहिले राडारको केन्द्र कहाँ राख्ने भन्ने अन्योलता बल्झिएको हो। निर्माण भइसकेको करिब डेढ महिना बितिसक्दा पनि राडारको केन्द्र कहाँ राख्ने भन्नेबारे जल तथा मौसम विज्ञान विभागले टुंगो लगाउन सकेको छैन।
पुनकै दबाबका कारणले उक्त मौसमी राडारको केन्द्र टुंगो लगाउन नसकेको बुझिएको छ। ‘पहिले भएको हावापानी कार्यालय नसार्ने भनेर राडारको काम त्यहाँ भयो’, स्रोतले भन्यो, ‘अहिले ऊर्जामन्त्री साबिकको हावापानी कार्यालय कोहलपुर सार्ने बलमा हुनुहुन्छ। दबाब दिइरहनु भएको छ। त्यसो भएर केन्द्र कहाँ राख्ने भन्ने अन्योल छ।’
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार वैद्यले राडार प्रयोगमा आइसकेको दाबी गरेका छन्। ‘राडारलाई काठमाडौँबाटै हेर्न सकिने भएकाले हामीले प्रयोगमा ल्याइसकेका छौँ,’ उनले भने, ‘सुर्खेतको क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय भए पनि राडार सञ्चालनको लागि सुर्खेतमा सानो युनिट राख्न आवश्यक छ।’
उनको अनुसार अहिले सातवटै प्रदेशमा हावापानी कार्यालय राख्ने पहल भइरहेको छ।
निर्णय सच्याउन माग
करोडौँ खर्चेर निर्माण गरिएको मौसमी राडार प्रयोगमा नआउनु लाजर्दाे भएको कर्णालीवासीको गुनासो छ। ‘यसरी व्यक्तिगत इच्छा र बल प्रयोग गरेर कार्यालय नै सार्नु गलत हो। एक कर्णाली प्रदेश सरकार भएको नाताले पनि कार्यालय कर्णालीमै अनिवार्य छ। तत्काल निर्णय सच्याएर काम अघि बढाउनुपर्छ’ खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटाले भने, ‘करोडौँ खर्चेर बनाएको राडार प्रयोगमा नल्याएर राजनीतिक खिचातानीले अलपत्र पार्न भएन। छिटोभन्दा छिटो सम्बन्धित निकायले प्रयोगमा ल्याउनुपर्छ।’
कार्यालय नसार्न कर्णाली सरकारको आग्रह
प्रदेश सरकारले समेत सङ्घीय सरकारले कर्णालीवासीको हित विपरीत गरेको निर्णय सच्याउनुपर्ने बताएको छ। अहिले प्रदेश नम्बर पाँचको भैरहवा र नेपालगन्जमा क्षेत्रीयस्तरका हावापानी कार्यालय रहेका छन्। कर्णाली र सुदूरपश्चिमको एक मात्र हावापानी कार्यालय कोहलपुर सारिए प्रदेश ५ मा तीन वटा हुनेछन्। कर्णाली र सुदूरपश्चिम खाली हुनेछ।
कर्णाली प्रदेश सरकारले क्षेत्रीय हावापानी कार्यालय कोहलपुर नसार्न केन्द्र सरकारसँग आग्रह गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्। ‘हाम्रो क्याबिनेट बैठकले समेत कर्णालीमा भएको एक मात्र हावापानी कार्यालय नसार्न केन्द्र सरकारलाई पत्राचार गरिसकेका छौँ’ उनले भनिन्।
मौसमी राडारले के गर्छ ?
सुर्खेतको रातानाङ्ला डाँडामा रहेको राडारले तीन सय किलोमिटर वरिपरि दूरीसम्मको मौसमको पूर्वावस्थाको जानकारी दिन्छ। यो क्षेत्रमा कहाँ, कुन समयमा कति वर्षा भइरहेको छ? अथवा हुन सक्छ भन्ने पूर्वसूचना दिन्छ। राडारले कर्णाली, सुदूरपश्चिमका साथै पाँच नम्बर प्रदेशको भूभाग पनि ‘कभरेज’ गर्छ। वर्षातको तीव्रता, हावाको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङसम्बन्धी मौसमी जानकारी दिएर जोखिम पूर्वानुमान गर्न सहयोग गर्छ। नेपालमै पहिलोपटक बाढी र डुबानको पूर्वानुमान गर्न सुर्खेतमा मौसमी राडार स्थापना गरिएको हो।
करिब १५० अर्धव्यासको आकाशमा स्क्यानिङ गर्न सक्ने उक्त राडारबाट आकाशमा बादल भए, नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिन्छ। आकाशतर्फ ठड्याएर राखिएको यन्त्रले वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए नभएको अनुमान गर्न सकिन्छ।
यसबाट विभिन्न नदीमा बाढी आउन सक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सहज हुन्छ।
यस्तै हवाई दुर्घटना रोक्न पनि सहयोग गर्ने मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख नीराजन सापकोटाले बताए।
‘दुई वटा विमानस्थलको मौसम सफा रहे पनि राडारले दुई विमानस्थल बिचमा पर्ने हवाई रुटमा कहाँ कति बादल लागेको छ? कति वर्षा भइरहेको छ भन्ने जानकारी पनि दिन्छ’, उनले भने ‘यसले हवाई सुरक्षामा सहयोग गर्छ भने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपबाट बर्सेनि समस्या भोग्दै आएका बासिन्दालाई पनि पूर्वसूचना दिएर जोगिन सहयोग गर्छ।’