PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसको प्रदर्शनलाई विरोध खतिवडाको टिप्पणीः कुहिरोमा गरेको आन्दोलन केही छिनमै फाटेर जाला!



बीपी साह

कांग्रेसको प्रदर्शनलाई विरोध खतिवडाको टिप्पणीः कुहिरोमा गरेको आन्दोलन केही छिनमै फाटेर जाला!

काठमाडौं: विभिन्न माग राखी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज देशव्यापी प्रदर्शन गरिरहेको छ।

वाइडबडी विमान खरिद प्रकरणका भ्रष्टाचारीलाई कारवाही, संवैधानिक आयोगका अध्यक्षहरुको नियुक्तको बदर लगायतका माग राखी कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ।

कांग्रेसले गरिरहेको विरोध प्रदर्शनप्रति टिप्पणी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विरोध खतिवडाले कांग्रेसको आन्दोलन धेरै दिन नटिक्ने दाबी गर्दै भने,‘जाडोको बेला कुहिरोमा गरेको आन्दोलन केही छिनमै फाटेर जाला।’

‘कांग्रेसले जायज माग उठाएर आन्दोलन गरेको भए आन्दोलन बलियो हुने सम्भावना थियो होला। तर कांग्रेसले बेमतलवका माग बेमौसममा उठाएको छ।’ पहिलोपोस्टसँग खतिवडाले भने,‘यो आन्दोलनमा जनताले समर्थन गर्ला भनेर सोंच्नु कांग्रेसको भुल हुनेछ।’

आवश्यक मुद्दा लिएर कांग्रेसले आन्दोलन गर्नु पर्ने बताउँदै खतिवडाले अहिलेका सबै एजेण्डाहरु पुरा हुने क्रममा रहेको दाबी गरे।

‘जुन उठ्नै नसक्ने मुद्दालाई उठाइएको छ त्यो धेरै अगाडि जाँदैन। जनताले समर्थन पनि दिँदैन,’ उनले भने, ‘कांग्रेसले उठाएको दुईवटा अस्पताललाई केन्द्रमै राख्नु पर्ने माग पुरा भइसकेको छ। डा.गोविन्द केसीले पनि अनशन तोडिसक्नु भएको छ। अब यी मुद्दाहरु उठाएर आन्दोलन होला त?’

कांग्रेसले आजको प्रदर्शनमा वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयलाई मुख्य एजेण्डा बनाएको छ।

वाइडबडी प्रकरणमा विभिन्न निकायबाट छानविन भइरहेकोले कांग्रेसले यस विषयलाई उठाउनु आवश्यक नभएको खतिवडा बताउँछन्।

‘वाइडबडी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदन विज्ञहरुको प्रतिवेदन होइन। त्यही आधारमा मन्त्री वा कसैलाई कारवाही गर्नु पनि उपयुक्त होइन। समितिले पनि अख्तियारलाई छानविनको जिम्मेवारी दिएको छ। अख्तियारले पनि छानविन सुरु गरेको छ,’ खतिवडाले भने, ‘सरकारले पनि ४५ दिने म्याद दिएर जाँचबुझ गर्दैछ। यति हुँदाहुँदै पनि कांग्रेसले यस विषयलाई उठाउनु कतिको सन्र्दभिक छ त? प्रक्रियामा गइसके पछि दोषीलाई त कारवाही हुन्छ नै।’

कांग्रेसले राष्ट्रव्यापी आन्दोलन भनेपनि यसको तुक नभएको दाबी गर्दै खतिवडा भन्छन्, ‘महंगी, भ्रष्टाचारलगायतको कुरा ५० वर्षअघि पनि उठेको थियो। र, पछि पनि उठ्नेछ। यस्ता नारा २०४८ सालमा पनि लागेको थियो ५८ मा पनि ६८ मा पनि र ७८ मा पनि लाग्नेछ। यस्तो मुद्दा उठाएर अहिले आन्दोलन गर्नु भनेको पानीको फोका जस्तो आन्दोलन हुने हो।’

प्रतिपक्षले सडक र सदनबाट सत्तापक्षलाई आस्चर्य चकित पार्ने चेतावनी दिएको भन्ने प्रश्नमा खतिवडा भन्छन्,‘शब्दमा आश्चर्यचकित पार्छु भन्नु भएको छ। शब्द त जसले जे भने पनि हुन्छ। सरकारले आफ्नो काम गरिरहेको छ। प्रतिपक्षी आफै आश्चर्य चकित परेको छ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको यो दोस्रो देशव्यापी प्रदर्शन हो। यसअघि साउनको पहिलो साता कांग्रेसले देशव्यापी प्रदर्शन गरेको थियो।

ओली सरकारले कांग्रेसद्वारा भएको नियुक्ती एकैपटक खारेज गरेपछि कांग्रेस आन्दोलनमा उत्रिएको थियो। त्यो आन्दोलन पनि एक दिन मै सकिएको थियो।

कांग्रेसले आज गरिरहेको प्रदर्शनमा वाइडबडीको भ्रष्टाचारसहित ३३ किलो सुन काण्ड, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको विषयसमेत उठाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक आयोगका अध्यक्षहरुको सिफारिस, बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय खारेजको माग गरेको छ।

यसैगरी भेनेजुएला प्रकरणमा सरकार र नेकपाले अमेरिकाको विरोध गर्नु नेपालहित विपरीत रहेको कांग्रेसले भनेको छ भने महँगी र भ्रष्टाचारको विरोध पनि कांग्रेसले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell