PahiloPost

Jan 20, 2021 | ७ माघ २०७७

तिर्खाएका ढुंगेधारा ब्युताउँने प्रयास, आउला त पानी?

तिर्खाएका ढुंगेधारा ब्युताउँने प्रयास, आउला त पानी?

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौँः उपत्यकालाई जीवन्त बनाई राख्न यहाँका सम्पदाको महत्त्वपूर्ण भूमिका छ। ती सम्पदामध्ये एक हुन्, ल्वहं हिति अर्थात् यहाँका ढुंगेधारा।

करिब एक दशक अघिसम्म उपत्यकाका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो, मूल स्रोतबाटै। कुनै बेला सयौँ मानिसको तिर्खा मेटाएका ती धारा अहिले आफैं प्याकप्याकी परेका छन्।

राष्ट्रिय अभिलेखालयका अनुसार काठमाडौँ उपत्यकामा करिब ४ सय दुंगेधारा छन्। तीमध्ये कति सुकिसके, कति नाम मात्रका छन्। पानी आउने धारा त एकाध मात्र छन्।

राजकुलोसँग जोडिएका सुनधाराहरूमा पानी नबगेको जुग भइसक्यो।

संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘दौरा सुरुवालमा टाई झुन्डाए झैँ गरी ढुंगेधारामा खानेपानीको पाइप र टुटी जडान गरिएको छ। पोखरीनजिकै बोरिङ गरेर पानी वितरण गरिन्छ।’

कुनै बेला कलकल पानी बग्ने ढुंगेधारालाई पुनः प्राण दिन न सरकार तदारुकता देखिन्छ न यिनको संरक्षणमा शहरवासीले चासो देखाएका छन्।

भक्तपुर, दतात्रय मन्दिर पछाडिको जेंलाका स्थानीय भने निर्जीव ढुंगेधारालाई जीवन्त बनाउने प्रयत्न गरिरहेका छन्। उनीहरू ढुंगेधाराको मुहान र मुहानको पानी धारासम्म ल्याउने परम्परागत विज्ञान खोतल्न थालेका छन्।

जेंलाको ढुंगेधारा

२०७२ सालको भूकम्पपछि जेंलाको एक ढुंगेधारामा पानी आउन छोड्यो। यद्यपि, जमिन र पर्खाल रसाउने गरेको स्थानीयले देखे। कुलो फुटेर पानी चुहिएको आशंकामा तिनले जमिन खन्न थाले।

पहिलो उत्खननमा ढुंगेधारा रहेको स्थानबाट १ मिटर पछाडि सिमेन्टका पाइप भेटिए। ती पाइप त्यहाँ बाटो निर्माण गर्दा राखिएको हुनसक्ने स्थानीयको अनुमान छ। त्यसको दुई फिट पछाडि पुरानो माटोको डुँड (पाइप) भेटियो। त्यसपछि नै पानीको स्रोतको खोजी भएको स्थानीयहरू बताउँछन्।

ढुंगेधाराबाट ५ मिटर पर डुंडको ‘टर्निङ प्वाइन्ट’ पनि भेटिएको स्मार्ट फोन्स फर वाटर नेपालका प्रमुख कार्यकारी अधिकृत राजाराम प्रजापति बताउँछन्। ‘टर्निङपछाडी घर रहेकाले सिधै उत्खनन गर्न मिलेन,’ उनले भने, ‘त्यसैले आइरन रडलाई टर्निङभित्र छिराएर हेर्यौं। साढे पाँच मिटर रड मज्जाले कुलोभित्र पस्यो।’

जेंलामा भेटिएको डुँड

डुँड रहेको स्थानमा 'पहेँलो माटो' भेटिएको र त्यसले पानी चुहावटलाई रोक्न सहयोग गरेको प्रजापतिले बताए। जमिन सतहभन्दा साँढे १ मिटरमुनि इँट्टाको बिचमा पहेँलो माटो राखिएको थियो। त्यहाँ धेरै बालुवा र इट्टाको च्यानल समेत भेटिएको उनले बताए।

प्रजापतिका अनुसार बालुवा हुनु भनेको त्यहाँ पानी पनि हुनु हो। त्यही पानी रसाएर डुंडमार्फत् ढुंगेधारामा गएको हुन सक्ने आशंकामा कुलोभित्र ‘स्पाई क्यामरा’ छिराएर अनुसन्धान गरियो। क्यामराले कुलोभित्र ढुङ्गै–ढुङ्गा देखाएपछि टनल खन्ने काम भयो, ठुलो च्यानल (कुलो) भेटिने आसमा।

तर, आशा विफल भयो। बारीछेउको पर्खाल बनाउँदा कुलोमा क्षति पुगेको हुन सक्ने प्रजापतिको बुझाइ छ। त्यस कारण ठूलो कुलो भेटिएन। कुलो भत्किए पनि जमिन रसाएर ढुंगेधारामा पानी आउने क्रम रोकिएन। 

जेंला पोखरी आसपास दुई वटा ढुंगेधारा छन्। भूकम्प अघिसम्म पानी आउने धाराको कथा यही भइहाल्यो। अर्को चाहिँ ‘सुख्खा धारा’ छ। त्यसमा अहिले खानेपानीको पाइपलाइन जडान गरिएको छ।

काठमाडौँ उपत्यकाका कतिपय ढुंगेधारा फोहोर थुपार्ने डम्पिङ साइट बनेका छन्। कोहीमा भने पानीले निकास नभएर ढुंगेधारा आफैँ डुबेका छन्। कतै त ढुंगेधारालाई गिज्याउँदै तिनको छेउमा पानी ट्याङ्की राखिएको छ। 

ललितपुर वडा नम्बर ९ स्थित पिपलबोटसँगै रहेको ढुंगेधारा निकास नपाएर डुबेको अवस्थामा

 ढुंगेधारा र पोखरीको विकासक्रम

पहिला काठमाडौँ उपत्यकामा पानीको मूल स्रोत भनेको जमिन रसाएको पानी थियो। मूल जुनसुकै बेला सुक्न सक्ने र बस्ती उजाड हुने डरले पुर्खाले राजकुलो निर्माण गरे। यसरी पानी वितरण प्रणाली सुरु गरिएको संस्कृतिविद् धौभडेल बताउँछन्।

जितामित्र मल्लको पालामा नगरकोटको महादेव पोखरीदेखि भक्तपुर दरबारभित्र राजकुलोको निर्माण भएको उनी बताउँछन्। लेलेबाट पाटनमा र बुढानीलकण्ठबाट काठमाडौँमा राजकुलोहरू बनाइए।

तिनै राजकुलोबाट अन्य ढुंगेधारा र पोखरीमा पानी सञ्चय गर्ने व्यवस्था थियो। १९९० सालको भूकम्प र त्यसपछिका धेरै वर्ष ती कुलाबाट सलल पानी बगे। वीर शमशेरको पालामा वीर धाराका लागि स्टिलका पाइप बिछ्याइए। त्यसले राजकुलो र मूलहरूको नोक्सान भएको धौभडेलको भनाइ छ। घरघरमा पानीको धारा आएपछि ढुंगेधाराको महत्त्व घट्दै गएको उनले बताए।

ढुंगेधाराको अध्ययन गर्दा पोखरीको विकासक्रम बुझ्नुपर्ने बताउँछन् धौभडेल। जमिनमुनि रहेको पानीको स्रोत र पानी खेर नजाओस् भन्दै त्यसको उपयोगका लागि पोखरी निर्माण गरिएको उनले बताए।

जलस्रोत इन्जिनियर राजाराम प्रजापतिका अनुसार काठमाडौँ उपत्यकामा तीन प्रकारका पोखरी निर्माण भएका छन्।

पहिलो, शहरभन्दा माथिल्लो बस्तीमा मुहान र आकाशे पानी जम्मा गर्नका लागि बनाइएका ठूला पोखरी छन्। पानीको बहावलाई नियन्त्रण गरी सहरमा बाढी पस्न नदिन यस्ता पोखरीले अहम् भूमिका खेल्ने उनी बताउँछन्। यस्ता पोखरी मासिँदै गएपछि शहरभित्र बाढी आउन थालेको उनको भनाइ छ। सिद्धपोखरी, कमल पोखरी माथिल्लो बस्तीमा बनेको पोखरीका उदाहरण हुन्।

‘कुलो हुँदै यस्ता पोखरीमा पानी जम्मा गरिन्थ्यो,’ उनले भने, ‘पहिला चारैतिर खेत थियो। तिनै पोखरीबाट खेतका लागि पानी वितरण हुन्थ्यो। नयाँ संरचना बनेपछि कुलोहरू हराउँदै गए, पोखरी सुक्दै गए। अहिले काठमाडौँमा ठूलो पानी पर्ने बित्तिकै पानी जम्मा भएर सडक पोखरी बन्नुको कारण यही हो।’

दोस्रो थरी पोखरी शहरको मध्य भागमा छन्। प्रजापतिका अनुसार यिनको काम आकासे पानी सङ्कलन गर्नु र जमिनमुनिको पानी रिचार्ज गर्नु हो। बीच भागमा रहेको एउटा पोखरीको सम्बन्ध अर्को पोखरीसँग हुने गर्छ। कतै पोखरीबाट ढुंगेधारामा पानी दिइरहेको भेटिएको छ भने कतै ढुंगेधाराबाट पोखरीमा पानी दिने व्यवस्था मिलाइएको देखिन्छ। 

तेस्रो पोखरी शहरभन्दा तल्लो भागमा र खोलाभन्दा माथि बनाइएका छन्। ती पोखरीको मुख्य काम भनेको जमिनको भूक्षय रोक्नु हो। माथिल्लो बस्तीबाट माटोसहित बगाएर ल्याएको पानी सिधै खोलामा पठाउँदा त्यसले खोला नजिकै रहेको खेतमा भूक्षय गर्न सक्ने भएकाले त्यो क्रमलाई रोक्न त्यस्ता पोखरीको निर्माण गरिएको हो।

शौचालय र फोहोर फाल्ने ठाउँ नजिक हुने भएकाले यी पोखरी अलि फोहोर हुने गरेको उनले जानकारी दिए।

 

इनार र ढुंगेधारा किन?

पहिले प्रत्येक टोलमा इनार बनाइन्थ्यो। टोलका मान्छेको भन्दा फरक जातिकालाई इनारको पानी प्रयोग गर्न दिइन्थेन। यद्यपि पानी सबैको लागि आवश्यक रहेको भन्दै इनारछेउ ढुंगेधारा स्थापना गर्ने परिपाटी थियो।

संस्कृतिविद् धौभडेल भन्छन्, ‘पुर्खाहरूले शहरी बस्ती बसाउँदा त्यहाँ पानी ल्याउन धेरै मिहिनेत गरेका छन्। जमिन रसाइरहेको स्थानमा पानीको स्रोत पत्ता लगाउँदै त्यहाँ इनार बनाउनु ठूलो उपलब्धि हो।’

इनारबाट बढी भएको पानीलाई प्रयोग गर्न ढुंगेधाराको निर्माण भएको उनी बताउँछन्। काठमाडौँ उपत्यकामा बनेको यस्ता इनार र ढुंगेधारा लिच्छवि र मल्लकालमा प्रयोगमा आएका हुन्। बिहान मुख धुन, पितृलाई तर्पण दिन र अन्य प्रयोगका लागि ढुंगेधारा उपयोग गरिन्थे।

जेंलासँगै रहेको इनारमा निरिक्षण गर्दै स्थानीय

लिच्छविकालमा उपत्यकामा बनाइएका ढुंगेधारामा बुट्टाको प्रयोग कम भएको धौभडेल बताउँछन्। 'त्यो बेला विकास भएको पानी वितरण प्रणाली र निर्माण कार्यमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर राम्रो थियो। मल्लकालमा भने त्यसको स्तर केही खस्केको देखिन्छ।’ मल्लकालमा पोखरी र ढुंगेधाराको सजावट र बुट्टा भर्ने कार्यमा धेरै ध्यान दिइएको थियो। 

पोखरी र ढुंगेधारामा राखिने मूर्ति र बनाइएका आकृतिको महत्त्व रहेको धौभडेल बताउँछन्।

प्रायः पोखरी र ढुंगेधारामा भगीरथको मूर्ति रहेको हुन्छ। गंगाका छोरा भगीरथले पानी मागेकाले उसको इच्छा पूरा गर्न आमा स्वयंम पानी दिन आएको कथन छ।

पोखरीमा मकर, गोही, सिंह आदिको मुखबाट पानी बग्ने प्रक्रिया तान्त्रिक विधिसँग मिल्ने उनले बताए। सर्प, गोही र नाग भएको स्थानमा सदैव पानी हुने मान्यताले तिनको चित्र बनाउन थालिएको जनविश्वास छ।

राजाहरूका लागि लुंहिति (सुनको धारा) बनाइएका थिए। सुनबाट बनाइएका धाराबाट आउने पानी चोखो हुने विश्वास गरिन्थ्यो। जनताले प्रयोग गर्ने ढुंगेधारा भने जनताको आवश्यकता अनुसार विभिन्न स्थानमा बनाइएको देखिन्छ। मल्लकालमा बाहिरबाट आएका मानिसका लागि चौबाटोमा धाराको निर्माण भएको देखिन्छ।

ढुंगेधारा नेपालीको जीवन्त संस्कृतिको उदाहरण रहेको भन्दै यसलाई खाने पानीसँग मात्र जोडेर हेर्नु नहुने धौभडेलको तर्क छ। त्यसैले जेंलाको ढुंगेधारामा गरिएको अनुसन्धान सफल भए उपत्यका मात्र नभई देशभरि रहेका कुलो र ढुंगेधाराको संरक्षण गर्न हातहरू अघि बढ्नेमा उनले आशा व्यक्त गरे।

सम्बन्धित समाचार :  गुइ टोलमा चन्द्रलोक धाराको यस्तो हालत! एक गाग्री पानीको ६ रुपैयाँ

पानीको स्रोतको खोजी 

परम्परागत जलस्रोत व्यवस्थापनमा अध्ययन गरिरहेको एसफोडब्लु नेपालका प्रजापति जेंला पोखरीभन्दा पूर्वी भेगमा रहेको इनारमा ’इलेक्ट्रिकल कनडक्टिभिटी’ मापन गरेर ढुंगेधारामा आउने पानीको स्रोत फेला पार्ने कोसिस गरिरहेका छन्। इलेक्ट्रिकल कनडक्टिभिटीमार्फत् पानीमा रहेका पदार्थको मापन गरिन्छ।

उनले इनारको पानी र ढुंगेधारामा आएको पानीको अनुसन्धान गर्दा दुवैको ’इलेक्ट्रिकल कनडक्टिभिटी’ एउटै ’रेन्ज’मा आएको बताए। ‘ढुंगेधाराको कनडक्टिभिटी ९०० देखियो भने इनारको ९६०,’ उनले भने, ‘त्यसैले उक्त ढुंगेधाराको पानीको स्रोत त्यही इनारबाट आएको हुन सक्छ। हाम्रो अनुसन्धान त्यसतर्फ केन्द्रित छ।’

प्रजापतिका अनुसार जमिनमुनि प्राकृतिक रूपमा पानी भण्डारण हुने प्रणाली ’एक्युफर’ बाटै विभिन्न धारा, इनार र पोखरीमा पानी वितरण गर्ने प्रणालीको विकास भएको हो।

तस्विर सौजन्य : पद्म सुन्दर जोशी

त्यही नजिकै रहेका अन्य धारा र इनारको पानीको गुणस्तर र लेभल अनुसन्धान गर्ने र त्यसबाट दुई फाइदा हुने उनी बताउँछन्। पहिलो कस्तो पानी कुन प्रयोजनका लागि प्रयोग गर्न मिल्छ भनेर थाहा पाइन्छ।

दोस्रो इनार र ढुंगेधाराबाट आएको पानी एउटै ’एक्युफयर’बाट आएको हो कि होइन भनेर थाहा पाउन सकिन्छ।

धौभडेल ती इनार र ढुंगेधाराहरुको संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्। भन्छन्, ’उपत्यकामा बढ्दै गएको शहरीकरणका कारण खेती योग्य खुल्ला जमिनहरू माथि कंक्रिटका संरचना बन्न थालेको बर्सौँ भयो। घरहरू बढ्दै गए। खोला पुरिए। जमिनमुनि पानी पस्न नपाउँदा सहरमा बाढी पसेको हो। ’

जलस्रोत इन्जिनियर प्रजापति जमिनुमनि पानी नजानुसँगै काठमाडौँमा बढ्दै गएको बोरिङ गरेर पानी निकाल्ने परम्परा खतरनाक भएको भन्छन्। उनका अनुसार जार र ट्याङकरको पानी काठमाडौँ उपत्यकाको अभिन्न अङ्ग भइसक्यो। भनौँ त्यो भएन भने काठमाडौँका आधा जनता पानीका लागि तिर्खाउने छन्। तर जमिनबाट जार र ट्याङकरका पानी निकाल्दा जमिनमा पानीको सतह कमहुँदै गएकोबारे सरकार र जनता दुवै मौन छन्।  

जमिनको 'रिचार्ज' नहँदा बाढी जाने सम्भावना रहेको हुन्छ। 'एक्युफर'मा पानी जानका लागि जमिनमुनि पानी जानुपर्ने हुन्छ। तर जमिनमुनि पानी जाने ठाउँ नै नभएपछि एक्युफरमा पानी जम्मा हुने सम्भावना कम हुन्छ। त्यसले भूक्षय बढ्न सक्छ। 

प्रजापति भन्छन्,’जमिनबाट पानी निकाल्ने र जमिनमा पानी जाने बाटो नबनाउने हो भने केही वर्षमा भयावह अवस्था हुन सक्छ। त्यसैले ढुंगेधारा संरक्षणबाट पानीको व्यवस्थापन गर्न अब सुरु गर्नैपर्छ।’



ट्रेन्डिङ पोस्ट

Ncell