
काठमाडौँ : युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन्।
रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्ग चित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गरे।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैसाखमा क्यानलाई निलम्बन गरेको थियो। आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताए।
सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढङ्गले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनाइ थियो।
निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो। आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो। तर, निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ।
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन्।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएइविरुद्धको टि–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही रु पाँच लाख दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले सो अवसरमा जानकारी दिए।
खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।