PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'स्वप्निल स्वप्न नगरी'मा मोफसलका सपनाहरु



पहिलोपोस्ट

'स्वप्निल स्वप्न नगरी'मा मोफसलका सपनाहरु

स्वप्निल अस्ट्रेलियाबाट फर्किएको युवक हो। पढाई सकेर नेपालमै केही गर्छु भनेर आएको। उसले काठमाडौंमा क्याफे संचालन गरेको छ। ऊ काममा रमाएको छ। व्यवसाय राम्रो भए धादिङमा पनि शाखा खोल्ने योजना हो उसको।

स्वप्निल एक्लो छैन। उसँगै प्रत्यक्ष जोडिन्छन् क्याफेमा काम गर्ने अन्य दुई युवा। उनीहरु आफ्नो सांगीतिक रुचीभन्दा पर रहेर काम गरिरहेका छन्। क्याफेमै पनि प्रेम वियोगमा लेखेको गीत गाउने, बजाउने, भिडियो बनाउने हुटहुटीको लागि 'स्पेस' खोज्छन्। सायद्, उनीहरुका लागि काम बाध्यता हो। बाध्यता हो र त आफ्नो कुरा खुलेर राख्न सक्दैनन्। उनीहरुको रहर 'गाँजा'जस्तै छ। जसको बारे प्रष्ट बोल्न गाह्रो छ, बोले के भन्लान् भन्ने डर छ। 

रहर दबाएर काम गरिरहेका दुई युवाजस्तै लाग्छन् खुशी, स्वतन्त्रता दबाएर रुमल्लिएका नाटकका अन्य पात्रहरु जो 'स्वप्निल क्याफे'मा देखिन्छन्। क्याफे राजधानीको विम्ब हो। र, यहाँ जम्मा हुने मानिसहरु मोफसलबाट सपना बोकेर आएकाहरुको प्रतिनिधि हुन्।

विदेशबाट देशमै केही गर्ने जोश बोकेर फर्किएका स्वप्निल, राजधानी छोड्न नसकेर भौतारी रहेकाको पीडा, ज्याला मजदुरी गरिरहेको केटोको विदेशिएर दैनिकी सहज बनाउने योजना, विदेशिनकै लागि नक्कली सम्बन्ध गाँस्नेहरुको मनोदशा। यी सबैलाई उद्देश्य पूरा गर्नु छ। उद्देश्य र उल्झनको बीचमा रहेका उनीहरुलाई राजधानीको 'दलाल' प्रवृत्तीसँग जुध्नु छ। 'दलाल' कहिले घरबेटीको रुपमा देखिन्छन्, कहिले विदेश पठाउने कन्सल्टेन्टको रुपमा। कोही कोठा खोजिदिने एजेन्ट हुन्छन्, कोही पिआरका लागि विवाहमा पैसा लगानीकर्ताको बन्छन्। 

नाटकले आम मानिसले भोगिरहेकाहरुको अवस्था चित्रण गर्छ। सपनाहरुको राजधानीको रुपमा प्रतिविम्बित सहरमा व्याप्त नकारात्मक व्यवहार र प्रवृत्तिमाथि व्यङ्ग्य पनि गर्छ।

नाटकलाई प्रदीपकुमार चौधरीले लेखेका हुन्। विकास जोशी निर्देशित नाटकमा ऋतु पौडेल, आकाश झा, अभिषेक शर्मा, बीना कार्की, छेजिङ जेवा भुटिया, डेविड सुवेदी, ज्ञानेन्द्र भट्टराई, केशव अधिकारी, लालप्रसाद जैसी, प्रकाश भट्टराई, सविना थापा, सचिन लामा, सुशिल पाण्डे, सृजना पाण्डे, सुजित घिसिङ, सुशिल तामाङ र योवश राईको अभिनय रहेको छ। कलाकारहरु मण्डला थिएटर ल्याब ७ का प्रशिक्षार्थीहरु हुन्।

'स्वप्निल स्वप्न नगरी' आउँदो माघ २७ गतेसम्म सोमबार बाहेक हरेक साँझ पाँच बजे मण्डला थिएटरमा मञ्चन हुन्छ। 

फोटो: नविनबाबु गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell