PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एनसेल लाभकर विवादको सुनुवाइ अन्तिम चरणमा, दुवै पक्षले आज जवाफ दिने



पहिलोपोस्ट

एनसेल लाभकर विवादको सुनुवाइ अन्तिम चरणमा, दुवै पक्षले आज जवाफ दिने

काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको सुनुवाइ आज पनि हुँदैछ। सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा आज पक्ष र विपक्ष दुबैका कानुन व्यवसायीले जवाफ पेस गर्दैछन्। जवाफ पेसपछि बहस सकिनेछ। इजलासले तत्कालै वा अर्को दिनका लागि निर्णय सुनाउने मिति तय गर्न सक्नेछ।

यसअघि तीन दिनसम्म सुनुवाइ भइसकेको छ। चार मुद्दामध्ये चारै पक्षका निवेदकका तर्फबाट मंगलबारसम्म बहस सकिएको छ। जवाफी बहस पनि मंगलबारदेखि नै सुरु भएको हो।

मङ्गलवार निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका छन्। यस्तै, विपक्षी ठुला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि मङ्गलवार बहस सुरु गरेका छन्। दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राख्नेछन्।

एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा निवेदक द्वारिकानाथ ढुङ्गेलका कानुन व्यवसायी छन्। एनसेलका तर्फबाट र रिटमार्फत अदालत पुगेका अधिवक्ता भावेष गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका छन्।

गौतमका पक्षका कानुन व्यवसायीले कूटनीतिक पहल र सम्बन्धित देशमा मुद्दामार्फत सरकारले कर असुल गर्नुपर्ने राय पनि दिएका छन्।

ढुङ्गेल पक्षका कानुन व्यवसायीले भने लाभरको विषय टुंगो नलागेसम्म लाभांश समेत लैजान नमिल्ने जिकिर गरेका छन्। लाभरको दायित्व अहिले एनसेल ‘होल्ड’ गर्ने कम्पनीमै रहेको उनीहरूको जिकिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell