
सुर्खेत: कर्णालीमा प्रदेशस्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा आगामी फागुन १ देखि ४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो।
मन्त्रालयको चालु आर्थिक वर्षको विनियोजित ५० लाख रकमबाट महिलापुरुष भलिबल खेलकुद प्रतियोगिता हुने मन्त्रालयका सचिव मानबहादुर विकेले जानकारी दिए। कर्णालीमा रहेका खेलाडीहरुलाई थप अवसर र हौसला प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए। उनका अनुसार कर्णालीका दश जिल्लाका महिला तथा पुरुष भलिवल खेलाडीले भाग लिन पाउने छन्। कर्णालीका दश जिल्लाबाट महिला १० टिम र पुरुष १० टिमले सहभागिता जनाउने छन्।
उक्त प्रतियोगितामा प्रथम हुनेले १/१ रनिङ शिल्ड र नगद एक लाखसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। दोस्रो हुनेले नगद ७५ हजारसहित प्रमाण पत्र र मेडल पाउने छन् भने, तृतीय स्थान प्राप्त गर्नेले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने सचिव विकेले जानकारी दिए। पुरस्कृत खेलाडीले कर कट्टा गरेर नगद पाउने उनले बताए। साथै उत्कृष्ठ खेलाडीमध्ये महिला र पुरुष गरी १/१ जनाले पुरस्कार पाउने छन्।
त्यसैगरी, सम्पूर्ण सहभागी खेलाडीको आतेजाते खर्चसहित खाना बस्नको खर्च मन्त्रालयले बेहोर्ने भएको छ। मन्त्रालयले हुम्ला र डोल्पाका खेलाडीको हवाई भाडा दिने र अन्य सवै सहभागी खेलाडीलाई दैनिक एक हजार भत्ता र आउने जाने भाडा उपलब्ध गराउने छ।
मन्त्रालयले जिल्लामा खेलाडीको छनौट तयारीका लागि नगद १ लाख पठाईसकेको जनाईएको छ। खेलाडीको जर्सीलगाएत आवश्यक तयारीमा खर्च हुने जनाईएको छ। जिल्लाबाट २५ गतेभित्र खेलाडीको नामावली आउने छ।
प्रतियोगितालाई सभ्य र भव्य बनाउन विभिन्न उपसमिति समेत तयार गरिएको छ।