PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

डीपीएलको तयारी अन्तिम चरणमाः विजेताले ३० लाख, उपविजेताले १२ लाख पाउने



एम बम

डीपीएलको तयारी अन्तिम चरणमाः विजेताले ३० लाख, उपविजेताले १२ लाख पाउने

कैलालीः धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। ‘यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। अब दुलहीझै सिंगार्न मात्रै थोरै काम बँकी रहेको छ।’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुशा शाहीले भने ‘रुस्लान धनगढी प्रिमियर लिगको सम्पूर्ण तयारी सम्पन्न भईसकेको छ। मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएका छन्।’

‘खेलका लागि मैदान तथा ५ वटा पिच निर्माण सम्पन्न भईसकेको छ। प्रतियोगिता आयोजनाका विभिन्न समितिहरुले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। म्याच अफिसियलहरु धनगढी आईपुगेका छन्,’ शाहीले भने ‘क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजान धनगढी क्रिकेट एकेडेमी (डीसीए) जहिल्यै नयाँ योजनाका साथ आउने गरेका छौं। सोही परिवेशमा शहर केन्द्रित फ्रेन्चाईज सोचको क्रिकेटलाई थप परिस्कृत रुपमा अगाडि बढाईरहेका छौं।’

अन्तराष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सको सहभागिता रहनेछ। सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानीयसहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन्।

 

पुरस्कार राशि सर्वाधिक, विजेताले ३० लाख र उपविजेताले १२ लाख पाउने

विगतका संस्करणझै प्रतियोगिता सर्वाधिक धनराशिको रहने भएको छ। प्रतियोगिताको पुरस्कार राशिमा बीस प्रतिशत बढाईएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको छ। त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन्। यस्तै प्रतियोगिताको गोल्डस्टार मोस्ट भेल्युवल प्लेयरलाई गोल्डस्टारको गोल्डेन बुट दिईने छ। प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाईसमेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान रहेको छ। पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको लाईभ एपीवान एचडी टेलिभिजनले गर्नेछ।

अस्थायी प्याराफिट निर्माण र यातायात सेवा

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरी सकिएको छ। दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकिएको छ। टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ। दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell