PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

देशका अधिकांश स्थानमा वर्षाः आइतबारदेखि मौसममा पूर्ण सुधार आउने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह



पहिलोपोस्ट

देशका अधिकांश स्थानमा वर्षाः आइतबारदेखि मौसममा पूर्ण सुधार आउने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँः मौसम बदली हुँदा देशमा अधिकांश स्थानमा वर्षा भइरहेको छ। देशका मध्य तथा पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलीसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको मध्य भूभागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ।

बिहीबार राति पनि देशका धेरै स्थानमा भारी वर्ष हुने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। 

शुक्रबार पनि देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ।

शनिबार भने पश्चिमी भेगमा मौसममा आंशिक बदली हुनेछ। मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुनेछ। शनिवार पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

शनिवार रातिदेखि पश्चिमी भेगमा मौसम सफा रहनेछ। मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा हुनेछ। मध्य तथा पूर्वी क्षेत्रमा आइतबारदेखि मात्र मौसममा पूर्ण सुधार आउनेछ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। हिमपातपछि हिमपहिरो जान सक्ने क्षेत्र र पहिरो जान सक्ने क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको हो। पहाडी क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव प्रवाह हुन समेत सक्ने अवस्था रहेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell