
सिन्धुपाल्चोकः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम बाहिर नदेखिए पनि युगान्तकारी काम गरिरहेको बताएका छन्।
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औँ वार्षिकोत्सवमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरिएको बताए।
उनले एकताको काम फागुनको पहिलो साताभित्र टुङ्गो लाग्ने दाबी गरे।
उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशी-विदेशी तत्त्वहरू सक्रिय रूपमा लागिपरेको बताए। गरिबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिए।