PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

फिल्ममा आफ्नै पात्र खोज्दै सुबिन भट्टराई : कस्तो लाग्यो त उनलाई समर लभ? भने : अब आफैँ गर्छु रिमेक



रीना मोक्तान

फिल्ममा आफ्नै पात्र खोज्दै सुबिन भट्टराई : कस्तो लाग्यो त उनलाई समर लभ? भने : अब आफैँ गर्छु रिमेक

'बेस्ट सेलिङ' उपन्यासमाथि बनेको फिल्म 'समर लभ'को फस्टलुक तयार भएपछि सुबिन भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गरे। कुरो त्यत्तिमै सीमित भएन। 

फेरि सुबिनले ९० प्रतिशतले पोस्टर मन नपराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। अनि सामाजिक सञ्जालमा सुरु भयो गाली बर्सिन। केही नलागेपछि उनले पोस्टर डिलिट गरे।  खासमा उनलाई पनि पोस्टर मन परेको थिएन।

फिल्म निर्माण अघिदेखि नै सुबिन फिल्मका कास्टलाई लिएर असहमत थिए। उपन्यासमा उल्लेख बाहुन (अतित) र नेवार (साया)पात्रसँग फिल्मका कास्ट आशिष पिया, रेवती क्षेत्रीको अनुहार मेल नखाने उनको धारणा थियो। 

यो कुरा सुबिनले अडिसनताका नै नोटिस गरेका थिए। पोस्टर आएपछि दर्शकले त्यही कुरामा सुबिनलाई गाली गरे। तर, पात्र भेट्टाउन निर्माण टिमलाई १६ महिना लागेको थियो। भनेजस्तो पात्र नभेटिएपछि कास्टसँग सुबिन बाध्यताले कन्भिन्स भएका थिए। 

'उपन्यासको अधिकार बेचिसकेको थिएँ, कास्टिङ मन परेन भनेर भने पनि। निर्देशक/निर्माता फिल्मको ज्ञाता हुनुहुन्थ्यो। १६ महिना लगाएर फिल्मको कलाकार खोजिएको थियो,' सुबिनले सुनाए, 'मैले मुद्धा नै हाल्ने असमझदारी गरिन। धेरैपछि, कास्टसँग म कन्भिन्स भएँ। मानिदिएको हो भनौं।' 

त्यस लगतै निर्माण टिमले फिल्मको टिजर, ट्रेलर सार्वजनिक गरे। सुबिनलाई टिजर, ट्रेलर पनि मन परेन। निर्देशकसँग सुमधुर सम्बन्ध राख्ने बाचा गर्दै उनी फिल्म टिमसँग एकाएक टाढिन थाले। त्यसपछि उनी फिल्मसँग सम्बन्धि कुनै कार्यक्रममा देखिएनन्। 

'निर्देशकसँग म नकरात्मक भइन। ट्रेलर र पोस्टर आएपछि मलाई यो चिजहरु मन परेन भनिदिएँ ,' उनले पोखेको असन्तुष्टि सुनाए। 

ट्रेलरमा आएका कमेन्ट पढेर सुबिन थप बिरक्तिए। उनलाई एककिसिमले पश्चाताप पनि लाग्यो। त्यसमा उनको तर्क छ- 'मेरो पनि करियर छ। लेखेर धन्दा गर्नुपर्छ। लेखेर घरको चुलो बल्छ। मैले मेरो पाठकलाई निराश बनाएँ भने त मेरो करियर सिद्धिन्छ।' 

***
फिल्म प्रदर्शनको केही दिनअघि निर्देशक मुस्कानले प्रोडक्सन स्टूडियोमा उनलाई फिल्म हेर्न बोलाए। 'फिल्म हेर्दिउँ, अनि प्रतिक्रिया नदिकन सिधै घर फर्किउँ' भन्ने सोच लिएर सुबिनले हेरे। 

उनलाई फिल्म ठीकै लाग्यो। ट्रेलर हेर्दाजस्तो विरक्त लाग्दो थिएन फिल्म। भने, 'राम्रो लाग्यो। मैले यो मेरो फिल्म भनेर काँधमा बोकेर हिँडेको थिइन। कम आशा लिएर फिल्म हेरेँ। त्यसैले आशा गरे भन्दा राम्रो बनेको पाइयो।'  

फिल्ममाथि अहिले पनि उनको असहमति यथावत छ। प्रष्ट भन्दा उनलाई फिल्मका धेरै कुरा मन परेको छैन। 

'आफूले माया गरेको मान्छेलाई, उसको कमी कमजोरीका साथ स्वीकारिन्छ नि त। त्यस्तै भयो यो फिल्म पनि। प्रेम गर्ने फिल्म बनेको छ,' उनी फिल्मप्रति केही सकारात्मक सुनिए।

उपन्यासले जस्तै दर्शकलाई फिल्मको प्लटले होल्ड गराइरहने बताउँछन्, सुबिन। उनको मूल्याङ्कनमा उपन्यासका प्लट, इन्टरटेन्टमेन्ट र इमोसनलाई फिल्मले मर्न दिएको छैन।  

फिल्म हेरेपछि उनलाई फिल्मको हिरो नै कथा लागेको छ। भने, 'समर लभको हिरो को हो? भनेर प्रश्न गर्लान्। नाम त दर्शकले आशिष, पिया भन्छन् होला तर, यसको हिरो कथा हो।' 
 
'समर लभ आफै बनाउँछु'
उनलाई मुस्कान ढकाललको निर्देशकीय कला मन परेको छ। तर, फिल्म अझै राम्रो बन्न सक्थ्यो भन्ने पनि लागेको छ।  आफूले निर्देशन गरेको भए फरक रुपमा फिल्म आउने बताउँछन् सुबिन। 'प्रत्येक पाठकको आफ्नो कल्पना छ, पात्र र घट्नालाई लिएर। मेरो पनि थियो। साया र अतित को हुन्, कस्ता हुन्, कहाँ भेटे, कस्तो अनुहार थियो। म भएको भएँ फिल्म यो रुपमा आउँदैन थियो। मैले अरुकै रुपमा ल्याउँथेँ,' उनले भने, 'अपेक्षा गरेको जस्तो फिल्म बनेन भन्दैमा नराम्रो भन्न त मिल्दैन नि।'

फिल्म हेरेपछि उनी निर्माण टिमप्रति सकरात्मक बनेका छन्। त्यसपछि फिल्मका कार्यक्रममा पनि सहभागी हुन थालेका छन्।  

यति हुँदा हुँदै पनि सुबिनलाई 'समर लभ'माथि फेरि फिल्म बनाउन मन छ। भन्छन्, 'निराश भएर भनेको होइन। अब, यो उपन्यास कुनै मेकरलाई दिन्न १०/१५ वर्षपछि म आफै बनाउँछु।'

लगानी सुरक्षित हुने अवस्था आएमा 'समर लभ'मा नै फिल्म बनाउने उनको लक्ष्य छ। भने, 'त्यो बेला समर लभलाई न्याय गरेर कसैले फिल्म बनाउँछ भने त्यो चाहिँ म नै हुँ।' 

पाठक नै दर्शक बन्ने आशा 
फिल्मको ट्रेलर र टिजर हेरिसकेपछि निराश बनेका पाठक पनि फिल्म हेर्ने आउने उनको आशा छ। आफूले माया गरेको किताबको फिल्म कस्तो बन्यो भन्ने जिज्ञासाले पनि पाठकलाई हलसम्म तान्ने अपेक्षा छ उनमा।

उनले आफ्नै उदाहरण दिए, 'म पनि नेगेटिभिटी लिएर फिल्म हेर्न गएँको थिएँ। फिल्म बिगार्नु बिगारी हाले भन्ने सोच थियो। तर, फिल्म राम्रै लाग्यो।'  

किताबका सबै कुरा फिल्ममा नसमेटे पनि भाव र मर्म नमारेको बुझाइ छ उनको।

उपन्यास नपढ्नेलाई फिल्म राम्रो लाग्न सक्ने तर्क पनि गरे उनले। 

व्यवसायिक रुपले फिल्म चले पनि नचले पनि यसले 'समर लभ'को ओझ घट्न नदिने तर्क छ उनको। भने, 'ती किताबहरु आजसम्म पनि जिवित छन्। जसमा नराम्रा फिल्महरु बने।' 

उनले पनि कति हलिउड फिल्म हेरेपछि मात्रै त्यस सम्बन्धि उपन्यास पढेका छन्। उनले भने, 'फिल्म चलेन, बिगार्योत भनेर गाली गर्लान्। समर लभको ओझ त रहिरहन्छ। यदि त्यस्तो भयो भने म कालन्तरमा यही उपन्यासमाथि फिल्म बनाउँछु। मैले त्यो पनि प्रण गरेको छु।' 

प्रदर्शन अगावै फिल्म हेरेपछि उनले कति दृश्यमा प्रतिक्रिया दिएका थिए। कतिपय आपत्तिजनक कुरा काट्न पनि लगाए। महिलावादी विषयलाई ध्यान दिन सुझाए निर्माण टिमलाई। 

३ वर्षपछि बन्यो 'समर लभ'
'समर लभ'माथि फिल्म बन्न तीन वर्ष लाग्यो। २०७२ मा सुबिनलाई विकास आचार्य र मुस्कान ढकालले भेट्न बोलाए। 
मुस्कानले समर लभमा फिल्म बनाउने कुरा अगाडि बढाए। सुबिनले उपन्यासको अधिकार बेचे। 

उनले फिल्म निर्माणमा कतै हस्तक्षेप गरेनन्। तर, अहिले सुबिनलाई हस्तक्षेप गर्नुपर्ने लागेको छ। किनभने अहिले फिल्म बनेर आइसक्यो। भने, 'म दर्शक जस्तो बसिदिएँ, छायाँकनताका हस्तक्षेप गर्नुपर्ने थियो फिल्ममा। सायद, त्यस्तो गरेको भए झनै राम्रो बन्थ्यो फिल्म।'
छायाँकनको समयमा उनी एकदिन टियू (त्रिभुवन विश्वविद्यालय) पुगेका थिए। 

लाइब्रेरीको दृश्यको छायाँकन थियो। रेवती छोटा लुगामा उभिएकी थिइन्। उनले रेवतीमा साया भेटेनन्। किनकि उपन्यासमा ग्राउण्ड लेभलको कथा समावेश थियो।

समान्य पात्रहरु। भाडा लिएर बस्ने अतित र बोल्ड साया। सायाको लुगाबारे निर्देशकलाई त्यतिखेर नै भने 'ड्रेसअप अलि भएन कि?'
मुस्कानले फिल्ममा ग्ल्यामर देखाउनुपर्ने तर्क राखेपछि उनले फेरि बोल्ने सोचेनन्। 

'मैले बनाएको भएँ चाहिँ साधारण कपडा लागएर, टियूकै मान्छे भनेर देखाउँथे होला,' उनले सुनाए, 'अहिले फिल्म हेर्दा अतित धनी मान्छे देखिन्छ। फिल्ममा स्टोरी टेलिङलाई ध्यान दिनुपर्छ।'

सिक्वेल 'साया' बन्छ ?  
'समर लभ' उपन्यासपछि सायाको खोजी हुन्छ। पाठकलाई सुबिनले साया त दिए। के यो फिल्मले पनि सायामाथि पनि फिल्म बन्नुपर्ने देखाउँछ?

सुबिनले भने, 'फिल्मको अन्त्यमा टू बी कन्टिन्यूड भनेर देखाइएको छ। साया अवश्य बन्छ। त्यसको लागि 'समर लभ' हिट हुन पर्‍यो  नि।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell