काठमाडौँः मेलम्ची खानेपानी विकास समितिले सिएमसीसँग ठेक्का तोड्ने निर्णय गरेको छ। बिहीबार खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको संयोजकत्वमा बसको बैठकले ठेक्का तोड्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए।
कँडेलका अनुसार समितिले टर्मिनेशन लेटर सिएमसीको मुख्यालय इटाली पठाइसकेको। 'थोरै काम बाँकी थियो, उसैबाट गराउँदा भन्दा २ महिना बित्यो अब कुर्ने अवस्था छैन' उनले भने।
आयोजनाले बाध्य भएर ठेक्का तोड्नु परेको बताएको छ।
समितिका अनुसार फेब्रुअरी १० सम्म ठेक्काको म्याद रहेको छ। एकतर्फी रुपमा सिएमसीले ठेक्का तोडेर हिँडेको छ। यदि फेब्रुअरी १० पछि ठेक्का तोडिए त्यो मान्य हुँदैन। त्यही भएर ठेक्का तोड्ने निर्णय गरिएको कँडेलले जानकारी दिए।
आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै विकास आयोजनालाई जानकारी नदिई साइट छोडेकोले १४ दिनमा किन कन्ट्रयाक्ट नतोड्ने भन्दै नोटिस निकालेको थियो। त्यो समयमा जवाफ नपठाएको र सम्पर्कमा नआएकाले ठेक्का तोड्नु परेको आयोजनाले जनाएको छ।
विकल्प के?
ठेक्का तोडे पनि बाँकी काम अघि बढाउने कुनै पनि विकल्प तयार भइसकेको छैन। अन्तिम चरणको काम कसलाई लगाउने विभन्न चर्चा चले पनि यकिन निर्णय गरिएको छैन। कतिपयले बाँकी काम सेनालाई दिँदा उपयुक्त हुने राय पनि दिइरहेका छन्। आयोजनाले विकल्प तयार पारेको छैन।
कँडेलका अनुसार आयोजनाले छिट्टै विकल्पहरु तयार पारेर मन्त्रालयलाई बुझाउने छ।
मन्त्रालयले मन्त्रिपरिषदमा लगेर कसरी निर्माण अघि बढाउने भन्ने निर्णय गर्छ। सरकारले गर्ने निर्णयका आधारमा अघि बढ्ने कँडेलले जानकारी दिए।