काठमाडौँः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउने उदेश्यले मलेसियामा धुर्मुस सुन्तली साँझ आयोजना गरिएको छ। अभियानका तीन प्रस्तुतिमध्ये दुई वटा कार्यक्रम सम्पन्न भएका छन्।
कलाकरद्वय सीताराम कट्टेल कुञ्जना घिमिरेसँगै लोकगायक बद्री पंगेनी, गायिका मेलिना राई र सम्झना भण्डारी मलेसिया पुगेका छन्।
धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणका लागि ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५’ को आयोजना गरेको हो।
जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ।
क्वालालम्पुर र पेनाङपश्चात अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ।
करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन्। माघ १६ गते रंगशाला निर्माणको घोषणा गरिएको हो। रंगशाला चितवनमा बन्नेछ।