PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई



रासस

टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई

चिप्लेढुङ्गा : पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन्।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधि हात पारेका हुन्। जितसँगै उनले आइटीएफको ३० अङ्क प्राप्त गरेका छन्। दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अङ्क प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन्। फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन्। उनले पनि आइटीएफको ३० अङ्क प्राप्त गरिन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अङ्क आफ्नो खातामा जोडिन्।

पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हासिल गर्‍यो। सो जोडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे। महिला डबल्सतर्फ चीनका लि यु लियु र इतोङ झाङको जोडीले चीनकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए।

डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अङ्क प्राप्त गरे भने दोस्रो हुने जोडीले १३ अङ्क प्राप्त गरेका छन्। विजयी खेलाडीलाई स्थानीय संयोजनकर्ता कास्की जिल्ला टेनिस सङ्घले मेडल पुरस्कार प्रदान गरेको छ। खेलाडीलाई सङ्घका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक सङ्घका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell