
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिए।
उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ। “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ।” महासचिव तुलाधरले भने।
एन्फाका अनुसार उक्त प्रतियोगिताहरुमा सभागिता जनाउने खेलाडी र एन्फा एकेडेमीका लागि आवश्यक खेलाडी छनोट आगामी फागुनको पहिलो सातादेखि शुरु गर्नेछ।
एन्फामा आबद्व जिल्ला फुटबल सङ्घलाई पत्र लेख्दै एन्फाले उमेर समूहका खेलाडी छनोट गरिने जनाउँदै खेलाडीको प्रशिक्षण शुरु गर्न समेत आग्रह गरेको छ।
महासचिव तुलाधरका अनुसार एन्फामा उमेर समूहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन्। अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ।