PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सात हजार नेपालीको 'जीवन'सँग साटिएको 'रेमिट्यान्स' ४५ खर्ब!



विधुर ढकाल

सात हजार नेपालीको 'जीवन'सँग साटिएको 'रेमिट्यान्स' ४५ खर्ब!

काठमाडौं: मुलुकमा १० वर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै चालीस लाख पुगेको छ।

मुलुकको कुल ग्राह्यस्थ उत्पादनको २९.६ प्रतिशत हिस्सा वैदेशिक रोजगारीबाट नेपाली पठाउने रेमिट्यान्सले ओगटेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०५०/५१ मा विप्रेषण आप्रवाह २ अर्ब १५ करोड रुपैयाँ रहेकोमा २०७२/७३ मा आइपुग्दा यो रकम ६ खर्ब ६५ करोड नाघेको छ।

मुलुकले विप्रेषण बढ्दै गए पनि विदेशी भूमिमा अकालमा ज्यान गुमाउनेको संख्या पनि ठूलै रहेको छ। यो अवधिमा आएको विप्रेषण नेपालीको जीवनसँग साटिएको हो। एनएलएसएस सर्भे २०११ ले ५५.८ प्रतिशत नेपाली घरधुरीमा रेमिट्यान्स पुग्ने तथ्यांक देखाएको छ।

पछिल्लो १० वर्षमा ३८ लाख ९८ हजार ४७९ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन्। यी नेपालीले यो १० वर्षमा ४४ खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको तथ्यांक राष्ट्र बैंकसँग छ।

तर यो विप्रेषण नेपाल आइपुग्दा रेमिट्यान्ससँगै सात हजार नेपालीको शवसमेत नेपाल आएको छ।

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष चालु आर्थिक वर्षको असोज मसान्त सम्म ६ हजार ७६६ जनाको शव नेपाल आइपुगेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकमा उल्लेख छ। यो संख्या विदेशमा मृत्यु भइ नेपालमा तीनका परिवारले पाएको क्षतिपूर्तिका आधारमा निकालिएको तथ्यांकमा आधारित छ। तर यसबाहेक राहत र क्षतिपूर्ति नेपाउनेको संख्या पनि रहेको र यो संख्या अझै बढी रहेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए।

बोर्डले गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा गएकाहरुको हकमा यस्तो क्षतिपूर्ति दिँदैन्। 'गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा गएर मृत्यु भए वा अंगभंग भए हामीले क्षतिपूर्ति दिने व्यवस्था छैन,' उनले भने 'यसरी गएर मृत्यु भएकाहरुको तथ्यांक पनि एकिन छैन।'

गत आर्थिक वर्षमा मात्र बोर्डले  ८२१ जना वैदेशिक रोजगारीका क्रममा मृतक नेपालीका परिवारलाई क्षतिपूर्ति प्रदान गरेको थियो।

त्यस्तै यो १० वर्षमा एक हजार २५२ जना नेपाली अपांग भएर फर्किएका छन्।

बोर्डको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा करिब आठ सय नेपालीको विदेशमा मृत्यु भएको छ। गत वर्ष फागुनदेखि यो माघको मध्यसम्ममा विदेशमा ज्यान गुमाएका ७८८ युवाका परिवारले क्षतिपूर्ति पाएका छन्।

मृतकका परिवारलाई यसबीच बोर्डले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell