
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी ४ दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते अधिकारीलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए।
'उहाँ (पूर्वउपप्रम अधिकारी) को स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ', कोइरालाले भने।
अधिकारीको उपचारमा डा कोइरालासहित डा अर्जुन कार्की, डा राजु पंगेनी, डा मनबहादुर केसीलगायत संलग्न छन्।
अधिकारीकी धर्मपत्नी सविता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महिना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताल भर्ना गरिएको हो।
बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापरबाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः ह्याम्स अस्पताल भर्ना गरिएको उनले बताइन्।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन्। रासस