
काठमाडौं : तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गते सुरु गरेको 'जनयुद्ध'को स्मृतिमा 'जनयुद्ध' दिवस प्रत्येक वर्ष माओवादी घटकहरुले मनाउँदै आएका छन्।
यसपटकको जनयुद्ध दिवस भने पूर्व एमाले समूहले पनि मनाउने भएको छ। तत्कालीन नेकपा (एमाले)को मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ तर नाम परिवर्तन गरी।
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जनयुद्ध दिवसलाई शहीद स्मृति दिवसको रुपमा मनाउने तयारी गरेको हो।
यसका लागि पार्टी महासचिव विष्णु पौडेलले पार्टीका तल्ला कमिटी, भातृ संगठनलाई सर्कुलर जारी गरी दिवस मनाउन निर्देशन दिएका छन्।
तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ने क पाका दुई अध्यक्ष मध्ये एक हुन्। उनकै पहलमा ने क पाले जनयुद्ध दिवसलाई पार्टीभित्र मनाउने तयारी गरेको हो।
तत्कालीन एमालेले माओवादीले चलाएको सशस्त्र युद्धलाई ‘जनयुद्ध’को रुपमा अस्वीकार गर्दै आएको थियो। अहिले पनि ने क पाभित्रको एमाले पंक्ति ‘जनयुद्ध’ शब्दमा सहमत नभए पनि मनाउने दिनमा सहमत हुँदै ‘शहीद स्मृति दिवस’को रुपमा मान्न राजी भएको हो। यही नाममा तत्कालीन एमालेले पनि यस दिन देशैभर दिवश मनाउने तयारीमा लागेको हो।
महासचिव पौडेलले पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुका कार्यालयलाई सर्कुलर जारी गर्दै फागुन १ गते सबै पार्टी कार्यालयमा कार्यक्रम गर्न निर्देशन दिएका छन्।
‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ। कामरेडहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत सोही अनुरुपका कार्यक्रमहरुको आयोजना गरी मनाउनुहुने विश्वास गरिएको छ,’ पौडेलले जारी गरिएको सर्कुलरमा भनिएको छ।
सोही दिन धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ। कार्यक्रममा पार्टीका दुवै अध्यक्षहरु प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।
प्रचण्डको छुट्टै कार्यक्रम पनि
यसैबीच जनयुद्ध दिवसको दिन अध्यक्ष प्रचण्ड अर्को कार्यक्रममा समेत सहभागी हुनेछन्। तत्कालीन माओवादी निकटको जनसांस्कृतिक महासंघले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।
मार्चपास गर्दै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी
यसैबीच जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादीको एक घटक मोहन वैद्यय ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी
माओवादी)ले देशैभर युवा मार्चपासको गर्ने भएको छ। ‘रेड मार्चपास’को नाममा देशैभर युवा मार्चपासको आयोजना गर्ने क्रान्तिकारी माओवादीले जनाएको छ।
त्यस्तै उपत्यकामा फागुन १ गते शान्ति वाटिकामा कार्यक्रमसमेत आयोजना गरिएको छ।
त्यस्तै देशैभरका पार्टी कार्यालयमा कार्यक्रम आयोजना हुने पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए। त्यस्तै साँझ देशैभर दीप
प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत क्रान्तिकारी माओवादीले तय गरेको छ।
भूमिगत रुपमै मनाउँदै विप्लव
त्यस्तै माओवादीको अर्को घटक नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भूमिगत रुपमै विभिन्न कार्यक्रम गर्ने जनाएको छ। विप्लव नेतृत्वको नेकपाले राजधानीमा देखिने कार्यक्रमको आयोजना गर्ने छैन।
‘हामी जनयुद्ध दिवस मनाउँछौँ। तर अहिले नै यही गरेर भन्ने स्पष्ट छैन। मनाएपछि यसरी मनाए भन्ने थाहा पाइहाल्नु हुन्छ,’ नेकपाका एक नेताले बताए।