
साइबर पङ्क एक्सन फिल्म एलिटा : ब्याटल एन्जल अमेरिका लगायतका देशहरुमा फेब्रुअरी १४ मा रिलिज हुँदैछ। तर एप्पल इन्टरटेनमेन्टले क्युएफएक्स सिनेमाजसितको सहकार्यमा आइतबार राति क्युएफएक्स छायाँ सेन्टरमा विशेष प्रदर्शन गर्यो।
पेड स्निक प्रिभ्यु नाम दिइएको विशेष प्रदर्शनमा सेलिब्रिटी, सञ्चारकर्मी र फ्यानहरुको उपस्थिति थियो।
जेम्स क्यामरुन र रबर्ट रोड्रिगुएजको यो फिल्मले दर्शकलाई २६ औँ शताब्दीको कथामा लान्छ। एउटा ठूलो युद्धपछि पृथ्वी ध्वस्त भएको हुन्छ र भग्नावशेषबाट साइबर्ग साइन्टिस्ट डा. इडोले महिला साइबर्गको एउटा टुक्राटुक्रा भएको शरीर भेट्टाउँछ जसको मस्तिष्क भने ठीक हुन्छ। आफ्नो विगत केही पनि नसम्झने यो साइबर्गलाई डाक्टरले आफ्नी दिवंगत छोरी एलिटाको नाम र शरीर दिन्छन्।
उनै एलिटाको वरपर घुमेको हुन्छ पूरै फिल्म।
टाइटानिक बनाउने जेम्स क्यामरुनको यो फिल्मको अन्त्यले टाइटानिकको झल्को पनि दिन्छ। तर २६ औँ शताब्दीको - न त्यहाँ जहाज हुन्छ न पानी। तर दुरुस्त परिस्थिति।
जापानी लेखिका युकिटो किशिरोले लेखेको साइबर पङ्क म्याग्ना सिरिजमा फिल्म बनाउने घोषणा क्यामरुनले सन् २००३ मै गरेका थिए। तर अवतार लगायत अरु फिल्ममा व्यस्त हुनुपरेपछि यो फिल्म रिलिज हुन् सन् २०१९ कुर्नुपर्यो।
क्यामरुन र रोड्रिगुएजले यो फिल्मको सिक्वेल पनि बन्ने योजना रहेको बताइसकेका छन्।
थ्रीडीमा समेत रिलिज हुने एलिटाले नेपालका मल्टिप्लेक्सहरुमा बलिउडको गुल्लीब्वाई र नेपाली फिल्म बुलबुलसित प्रतिस्पर्धा गर्नेछ।