काठमाडौं: फिल्म यात्रा 'अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। फिल्ममा एक भ्लगर युवाको कथा समेटेको बताइएको छ। फिल्ममा सलिनमान बनियाँको मुख्य अभिनय छ।
सलिनमानको यो दोस्रो फिल्म हो। उनले झरना थापा निर्देशित 'ए मेरो हजुर २'बाट डेब्यू गरेका थिए।
निर्माण टिमले यसअघि फिल्मको पोस्टर सार्वजनिक गरेको थियो। अहिले भने टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ। 'पाँच पंछी'बोलको गीतको भिडियोमा सलिनको टिम सोलुखुम्बुसम्मको यात्रामा देखिन्छन्। धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द र संगीत छ।
सम्राट शाक्य निर्देशित फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलागयतको अभिनय छ।
फिल्ममा विदेशी कलाकारहरुको अभिनय समेत रहेको छ। चाइनाका जुन झाङ र केन्याका बबी यस फिल्ममा देखिदैछन्।
कोटकी कालिका देवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन छ।
गीतबारे सलिनमानले भने 'यो गीत ट्राभल गीत हो। ट्राभल गर्दा बाटोको रमाइलोलाई यसमा देखाएका छौं भने यसमा नेपालको सुन्दरतालाई पनि देखाउने कोसिस गरेका छौं। यो फिल्म मेरो लागि पनि यात्रा नै भयो, फिल्मले नेपाललाई नै पनि एक्सप्लोर गर्छ, जस्तो लाग्छ।'