PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

जनयुद्ध दिवसः २९५ एमाले कार्यकर्ता जसले 'जनयुद्ध'मा माओवादीका कारण ज्यान गुमाए



पहिलोपोस्ट

जनयुद्ध दिवसः २९५ एमाले कार्यकर्ता जसले 'जनयुद्ध'मा माओवादीका कारण ज्यान गुमाए

एमाले र माओवादी केन्द्र दुई पार्टीको एकता भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनिसके पनि विगतमा यी दुई पार्टीको सम्बन्धमा भने निकै उतारचढाव आए। माओवादीले सुरु गरेको ‘जनयुद्ध’ लाई एमालेले ‘सशस्त्र द्वन्द्व’मात्रै भन्दै आएको थियो। यो शब्दलाई लिएर नै एकतामा व्यवधान आउने संकेतसमेत देखिएको थियो। अन्ततः ‘जनयुद्ध’लाई पार्टीको दस्ताबेजमा लिपिबद्ध गर्न एमाले सहमत भयो। र, आज पहिलेको एमालेको मुख्य कार्यालयमै पूर्व एमालेसहित जनयुद्ध दिवस मनाइँदैछ।

एमालेले जनयुद्धलाई स्वीकार गर्न सुरुमा आनाकानी गर्नुको कारण थियो- सशस्त्र द्वन्द्वकालमा आफ्ना थुप्रै कार्यकर्ताको ज्यान माओवादीकै कारण गुम्नु। १० वर्षीय द्वन्द्वमा कूल ४९० एमालेका कार्यकर्ताको ज्यान गएको पार्टीकै तथ्याङ्क छ। यसबारे अभिलेख तयार पार्न एमालेले देवशंकर पौडेललाई जिम्मा दिएको थियो। पौडेलले पार्टीमा बुझाएको अध्ययन प्रतिवेदन अनुसार माओवादीका कारण २९५ जना एमाले कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो।

त्यसै गरी पार्टीले झलनाथ खनालको संयोजकत्वमा ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ २०५६ सालमा बनाएको थियो। कार्यदलको प्रतिवेदनमा मारिएका ३० जनाको विवरण यसरी उल्लेख गरिएको छ।

 

पढ्नुस् प्रतिवेदनको अंश जस्ताको तस्तै-

माओवादी जनयुद्ध सुरु भए यता माओवादीको प्रहार नेकपा (एमाले) माथि पनि हुँदै आएको छ । माओवादीले नेकपा (एमाले) को सङ्गठन कमजोर बनाउने अनेकौँ हर्कतहरु गरेका छन्। नेकपा (एमाले) लाई ठूलो अवरोध ठान्ने माओवादीले एमालेमाथि अनेकौँ किसिमले आक्रमण गर्ने काम गरिरहेका छन्। एमालेका कतिपय नेता, कार्यकर्ता, सदस्य र समर्थकको हत्या गरी आफ्नो खुनी अनुहार प्रदर्शन गर्दै आएका छन्। आफूलाई कम्युनिस्ट पार्टी भन्ने समूहले देश, जनता र क्रान्तिको लागि सङ्घर्षरत कम्युनिस्ट कार्यकर्ताहरूको हत्या गर्नु कति सुहाउने कुरा हो। माओवादीले एमालेका कार्यकर्तालाई सुराकी गरेको, जनयुद्धको प्रतिकार समिति बनाएको लगायतका झुठ्ठा आरोपहरू लगाएर हत्या गर्ने, अपहरण गर्ने, कुटपिट र दण्डित गर्ने जस्ता अमानवीय कामहरू गर्दै आएको छ।

०५२ साल फागुन यता माओवादीको गोली र खुकुरीको सिकार भएर मृत्युवरण गर्ने एमाले कार्यकर्ता र सदस्यहरूको सङ्ख्या अहिले ३१ पुगेको छ। राप्तीमा मात्र माओवादीद्वारा एमालेका १९ जना कार्यकर्ताहरू मारिएका छन् । यसरी मारिनेमा एमालेका नेता, कार्यकर्ता, जनप्रतिनिधि, सदस्य र समर्थकहरू रहेका छन्। रातो झन्डा बोकेर कम्युनिस्ट कार्यकर्ताकै हत्या गर्ने कार्यमा निर्लज्जतापूर्वक उत्रिएको माओवादी डफ्फाले सैद्धान्तिक, राजनीतिक विश्लेषण विना विवेक गुमाएर देश र जनताको मुक्तिको लागि समर्पित कैयौँ क्रान्तिकारी योद्धाहरूको ज्यान लिने काम गरेको छ। यसरी हत्या गरिएका एमालेका शहीदहरूको सम्बन्धमा छोटकरीमा यहाँ चर्चा गरिएको छ।

 

यदुकुमार गौतम, रुकुम

नेकपा (एमाले) रुकुम जिल्ला कमिटीमा तत्कालीन सचिव कमरेड यदु कुमार गौतमलाई माओवादीहरूले ०५५ फागुन २१ गते शहीद दिवस’ को दिन बर्बरतापूर्वक हत्या गरेका थिए। नेकपा (एमाले) राप्ती अञ्चल समन्वय कमिटी सदस्य र राष्ट्रिय पार्षद् समेत रहेर सक्रियतापूर्वक काम गरिरहनु भएका क. यदु ०५६ सालको आम निर्वाचनमा रुकुम क्षेत्र नं २ बाट पार्टीको उम्मेदवार समेत घोषित हुनु भएको थियो। निर्वाचनमा विजयी हुने निश्चित अवस्था रहेको उक्त क्षेत्रमा क. यदु गौतम चुनाव प्रचार र सङ्गठन निर्माणको सिलसिलामा ०५५ साल फागुन २१ गते गरायला गाविस वार्ड नं. ७ को मेघा भन्ने ठाउँमा पुग्नुभएको थियो । सोही ठाउँमा उहाँमाथि षडयन्त्रमूलक तरिकाले कायरतापूर्वक खुकुरी प्रहार गरेर क्रूर र पाशविक हत्या गरियो। यसबाट माओवादीहरूको कथित क्रान्तिकारीता नराम्रो सित उदांगिएको छ । क. यदु गौतम नेपाली जनताको मुक्ति आन्दोलनमा क्रियाशील हुने क्रममै शहीद हुनु भएको छ। उहाँले देश, जनता र पार्टीको लागि हाँसी-हाँसी मृत्युवरण गरेर आफ्नो मृत्युलाई पहाड भन्दा उचो बनाउनु भएको छ।

०१८ साल वैशाख १६ गते रुकुम विजेश्वरी गाविस वार्ड नं ५ रुकुमे गाउँ चौरजहारीमा क. युद्धको जन्म भएको थियो। पिता उमाकान्त गौतम र माता जानकी गौतमका ज्येष्ठ सुपुत्र यदु बाँचुञ्जेल नेपाली जनताको मुक्ति आन्दोलनमा इमान्दारितापूर्वक सक्रिय रहनुभयो। ०३५ सालदेखि पञ्चायत विरोधी संघर्षमा संलग्न क. यदु   अनेरास्ववियु छैटौँको बाँके जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य, कोषाध्यक्ष र महासचिव भएर काम गर्नु भएको थियो। उहाँ नेकपा (चौम) को काठमाडौँ जी.क. सदस्य, नेकपा (मशाल) को उपत्यका कमिटी सदस्य र केन्द्रीय प्रचार विभागको सदस्य भएर समेत काम गर्नुभएको थियो। कानुनमा स्नातकसम्म अध्ययन गर्नु भएका क. यदुले केही समय पत्रकारिता र वकालत पनि गर्नु भएको थियो।

०४७ मा आफ्नै गृह जिल्ला रुकुम गएर ०४८ को चुनावमा संजमोको प्रचार कमिटी संयोजक भई काम गरेका क. यदुको अन्तरविरोध मशालसँग बढ्दै गयो र उहाँ केही समय निष्क्रिय हुनुभयो । यसै सिलसिलामा ०५२ मंंसिर १ गते उहाँ नेकपा (एमाले) मा प्रवेश गर्नुभयो। उहाँले नेकपा (एमाले) रुकुम जी.क. सदस्य र उपसचिव भई काम गर्नुभयो। ०५४ सालमा भएको छैटौँ महाधिवेशनमा प्रतिनिधि बन्नु भएका क. यदु पार्टी विभाजनपछि जी.क. सचिव भएर रुकुमको नेतृत्व सम्हाल्नु भयो। क. यदुले विभिन्न समयमा जेल जीवन पनि बिताउनु भएको थियो।

०३९ सालमा अखिल कार्यकर्ता तीर्था निरौलासँग उहाँको पार्टीगत विवाह भएको थियो। तीर्था अहिले प्रतिनिधिसभा सदस्य भएर राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँका ७४ वर्षीय बुबा, ७२ वर्षीय आमा, श्रीमती तीर्था गौतम, चार छोरीहरु सुवानी, सुदिना, सुदृष्टि, सुजाता र एक छोरा सुरजका साथै एक दिदी, एक बहिनी, एक भाइ, एक बुहारी र दुई जना भतिजीहरू हुनुहुन्छ। 

 

हरिसिंह नेपाली, सल्यान

नेकपा (एमाले) सल्यान जिल्ला परिषद्का सदस्य एवं वडागाउँ गाविसका उपाध्यक्ष रहनु भएका हरिसिंह नेपाली एक जना इमानदार, सक्रिय, निडर र दलित समुदायबाट सामाजिक मुक्ति आन्दोलनमा निरन्तर लागि परेको योद्धा हुनुहुन्थ्यो। उहाँ उत्पीडित जातीय मुक्ति समाजमा पनि क्रियाशील हुनुहुन्थ्यो। माओवादी जत्थाले उहाँलाई गाउँमा प्रहरी चौकी राख्न लगायो र माओवादीको सुराकी गर्‍यो’ भन्ने कपोलकल्पित आरोप लगाई बर्बर यातना दिएर २०५५ फागुन ११ गते हत्या गरेको थियो। हरिसिंह नेपाली अत्यन्त गरिब परिवारको दलित कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ जीविका चलाउन फलामका भाँडा बनाउने र परिवार पाल्ने काम गर्दै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँका  श्रीमती, २ छोरा, २ छोरी हुनुहुन्छ। गरिबीका कारण घर चलाउन ल्याएको ऋण तिर्न नसकेका दलित राजनीतिक कार्यकर्ताको हत्या गरेर माओवादीहरूले कसको निम्ति क्रान्तिको गरी रहेका छन्? प्रश्न खडा भएको छ । यस घटनाबाट माओवादी जत्था नराम्रोसँग नांगिन पुगेको  छ।  

 

दलराम खड्का, रुकुम

०२८ सालमा रुकुमको प्वाङ गाविस ४, किंदामा गंवरसिंह खड्का र मदी खड्काको कोखबाट जन्मनु भएका क. दलरामको ०५५ साल मङ्सिर २ गते रुकुमको राङ्सी गाविसमा माओवादीहरूले निर्ममतापूर्वक ज्यान लिएका थिए। ०४९ सालमा नेकपा (एमाले) को सङ्गठित सदस्य रहनु भएका खड्का ०४७ सालदेखि नै पार्टी कार्यकर्ताको हैसियतमा सक्रिय हुनुहुन्थ्यो । उहाँ नेकपा (एमाले) तीन नम्बर इलाका कमिटीको सदस्य हुनुहुन्थ्यो। राङ्सी गाविसको सचिव पदमा अस्थायी सेवामा कार्यरत दलरामका पत्नी जमुना खड्का र ३ वर्षको छोरा विजय खड्का हुनुहुन्छ। उहाँलाई माओवादी गुटले बर्बरतापूर्वक कुटपिट गरी हत्या गरेको थियो।

 

शेरबहादुर खड्का, रुकुम

नेकपा (एमाले) को सदस्यका हैसियतले ०४९ सालदेखि राजनीतिमा सक्रिय शेरबहादुर खड्काको ०५५ साल मङ्सिर २८ गते माओवादी जत्थाले घरमै बसिरहेको बखत हत्या गरेको थियो। पद्मसिंह खड्का र बेलमति खड्काको कोखबाट प्वाङ गाविस रुकुममा जन्मनु भएका क. शेरबहादुर ०५० सालमा इलाका पार्टी सक्रिय दलमा सङ्गठित भई सात नम्बर इलाकाको जिम्मेवारी निर्वाह गरी रहनु  भएको थियो। उहाँकी पत्नी सेती खड्का, छोरा देवीलाल खड्का र छोरी निशा खड्का रहनु भएको छ।

 

चीनबहादुर रोका, रुकुम

२००५ सालमा रुकुमको खोलागाउँ गाविस वडा नं २ मा जन्मिनु भएका चीनबहादुर रोका सिकर्मीको काम गरेर जीवन गुजारा गर्दै आउनु भएको थियो। एक जना इमानदार किसान कार्यकर्ता चीनबहादुर रोकालाई ०५६ सालको माघे संक्रान्तिको राति १२ बजे घरबाट लगी गाउँको बीचमा माओवादी जत्थाद्वारा हत्या गरिएको थियो । ०४७ सालमा पार्टीको साधारण सदस्य हुनु भएका रोकाले ०५२ सालमा सङ्गठित सदस्यता प्राप्त गर्नु भएको थियो। उहाँले पार्टीमा खोलागाउँ गाउँ कमिटीको सदस्यका हैसियतले इमान्दारीपूर्वक काम गरिरहनु भएको थियो । रुद्र बहादुर रोका र मागी रोकाका छोरा गरिब किसान चीनबहादुरकी पत्नी गंगाकुमारी रोका, दुई छोरा, तीन छोरी हुनुहुन्छ। उहाँको हत्या गरेर माओवादी जत्था जनतामा अझ नराम्ररी नांगेझार बन्न पुगेको छ।

 

विष्णुप्रसाद गिरी, सल्यान

२०३० साल माघ २५ गते सल्यान जिल्लाको कालागाउँ गाविस वार्ड नं १ मा पिता चित्रबहादुर गिरी र माता गोविन्द गिरीको एक मात्र छोराको रूपमा जन्मिएका विष्णुप्रकाश गिरी नेकपा (एमाले) का सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। एमालेमा सक्रिय भएको कारण सुराकीको आरोप लगाएर माओवादीहरूले उहाँलाई ०५६ असार ५ गते आफ्नै घरबाट अपहरण गरेका थिए। उहाँलाई हत्या गरेको बारे माओवादीले अहिलेसम्म आधिकारिक रूपमा नबोले पनि उहाँ जीवित हुनुहुन्न भन्ने कुरा प्रस्ट भएको छ । उहाँका आमा बाबु अहिले आफ्नो जन्मथलोबाट विस्थापित हुन बाध्य हुनु भएको छ। क. विष्णु की २८ वर्षीय श्रीमती दीपा, दुई छोरी ८ वर्षीय रञ्जना र ३ वर्षीय हिमा र एक छोरा ६ वर्षीय घनश्याम हुनुहुन्छ।

 

शोभाराम बस्नेत, सल्यान

सल्यान जिल्ला सिद्धेश्वरी गाविस २ निवासी अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष मनवीर बस्नेतका बुबा तथा नेकपा (एमाले)का समर्थक   सर्वसाधारण किसान शोभाराम बस्नेतलाई माओवादीहरूद्वारा एमालेको समर्थन गरेको, माओवादीका गलत क्रियाकलापको विरोध गरेको, माओवादीलाई चन्दा नदिएको कारण विभिन्न झुटा आरोप लगाएर यही ०५८ साउन ६ गते राति निर्ममतापूर्वक कुटपिट गरी हत्या गरिएको छ।

 

हारजंग हत्याकाण्ड रोल्पा

०५५ साल माघ २७ गते बिहान ५ बजे अत्यन्त ठूलो सशस्त्र तयारीका साथ माओवादी छापामार’ हरू हारजंग गाउँमा प्रवेश गरे। रातभरि गाउँको गस्ती गरेर थाकेका गाउँ सुरक्षा समितिका सदस्यहरू कमारा भन्ने बलबहादुर रोकाको घरमा सुतिरहेका थिए। माओवादी जत्थाले त्यही बेला अचानक घेरा हाले। अनि ढोकामा बाहिरबाट चुकुल लगाएर घरमा आगो लगाइदिए। आगो लागेको थाहा पाएपछि भित्र सुतेकाहरू उठेर बाहिर निस्कने प्रयास गरे। तर आगोबाट बच्न बाहिर निस्कनेहरू पालैपालो माओवादीको गोलीको सिकार बन्न पुगे। आगो निभाउन आउने गाउँलेहरू पनि हत्यारो जत्थाको कुटपिट र आक्रमणमा परे। यसरी एउटै थलोमा डढेर तथा गोली लागेर आठ जना एमाले कार्यकर्ताहरुले आफ्नो अमूल्य जिन्दगी गुमाउनु भयो। उक्त घटनामा तीनजना गम्भीर रूपमा घाइते बन्नु भयो भने अन्य सात जना आक्रमण  र आगलागीमा परी सामान्य घाइते बन्नु भयो।

त्यसपछि माओवादी जत्थाले गाउँमा अराजकता र लुटपाट मच्चाउने जस्ता काम पनि गर्‍यो। यसरी माओवादीका नाममा हारजंग घटना आधुनिक मानव सभ्यताको कलङ्कका रूपमा अंकित बन्न पुग्यो। आगलागीबाट घर र घरभित्र रहेको सम्पूर्ण सम्पत्ति नष्ट भयो। उक्त घटनाको सर्वत्र निन्दा भएपछि माओवादी जत्थाले कथित छानबिन गर्ने भनेर जनआक्रोशबाट बच्ने प्रयत्न गरेको थियो। तर त्यो कथित छानबिनको रिपोर्ट सार्वजनिक नगरी हारजंग घटना गलत भएको र संलग्न छापामारहरू माथि कारबाही गरिएको विवरण सार्वजनिक गरेर माओवादीले आफ्नो अपराध स्वीकार गर्न पुगेको छ। तर घटनामा संलग्न युद्ध अपराधी’हरूलाई गरेको कारबाहीको विवरण जनताले थाहा पाउन सकेका छैनन्।

हारजंगमा बलबहादुर रोकाको घरलाई “ग्यास च्याम्बर” बनाएर हिटलरी शैलीमा आठ-आठ जना नेपाली समूहहरूलाई जिउँदै डढाएर मार्दा गुञ्जिएको चीत्कारले माओवादीहरूलाई बाँचुन्जेल निरन्तर लखेटिरहने छ। उक्त घटनामा ८ जनाको हत्या भयो, १०जना घाइते भए र ३ जनालाई अपहरण गरिएको थियो। ती मध्ये एकजना अपहरणबाटै भाग्न सफल हुनु भयो भने दुई  जनालाई चरम यातना दिएर छाडिएको थियो। घाइते भएका मध्ये  हस्ते रोकाको केही समय पछि उपचार गर्दा  गर्दै मृत्यु भएको थियो। यसका साथै माओवादीहरूको यातनाको कारणले केही महिनापछि श्रीमती खिरु पुनको समेत मृत्यु हुन पुगेको थियो। यसरी एकै घरमा आतंकारी जत्थाको सिकार हुनु भएका बहादुर सपूतहरु निम्न अनुसार हुनुहुन्छ:

१. पुष्टबहादुर (पुष्टे) गिरी, उमेर ६५ वर्ष

२. अमृतबहादुर गिरी, उमेर ५५ वर्ष

३. ढाँटे पुन, उमेर ६० वर्ष

४. मनबहादुर गिरी, उमेर ४२ वर्ष

५. एैभान पुन, उमेर ५० वर्ष

६. चैते पुन, नाबालक उमेर १४ वर्ष

७. बेगमबहादुर पुन, उमेर ३३ वर्ष

८. तिर्खु गिरी, उमेर ३५ वर्ष

९. हस्ते रोका, उमेर ४९ वर्ष

१०. श्रीमती खिरु पुन

यस घटनामा परी घाइते हुनेहरुमा शोभाराम गिरी, माने बुढा, दिलु गिरी, विर्मा गिरी र हाँसे बुढा रहनुभएको थियो भने अपहरण हुनेहरूमा डम्बर पुन, जङ्गबहादुर पुन र किशोर पुन रहेको बताइन्छ। यो घटनाले माओवादी जनयुद्धको पतनको सङ्केत मात्रै गरेन, उनीहरूको जनता मारा, नीच र पाशविक चरित्रको भण्डाफोर समेत गरेको छ।

हार्जङ घटनाको सम्बन्धमा माओवादी पक्षले विभिन्न भ्रामक कुराहरू गरिरहेको सन्दर्भमा नेकपा (एमाले) द्वारा हार्जङ घटना सम्बन्धी सत्य तथ्य पत्ता लगाई छानबिन गर्न एउटा कार्यदल गठन गरेको थियो र सो कार्यदलले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाइ सकेको छ।

 

मिझिङ एम्बुस काण्ड, रोल्पा

माओवादी समूहले ०५६ माघ १० गतेको पश्चिमाञ्चल बन्दको पूर्वसन्ध्यामा रोल्पाको मिझिङमा एम्बुस थापेका  थिए।   सोही दिन रोल्पा जिल्ला खानेपानी कार्यालयमा कार्यरत कर्मचारीहरू एक जना ठेकेदारको गाडीमा चढी घर फर्कँदै गरेको अवस्थामा उक्त गाडी माओवादीको एम्बुसमा पर्‍यो र दुईजना कर्मचारीको घटनास्थलमै निधन  भयो। नेपाल निजामती कर्मचारी सङ्गठनमा सङ्गठित उहाँहरू नेकपा (एमाले) का समर्थक हुनुहुन्थ्यो। माओवादी डफ्फाले उक्त एम्बुस काण्ड’ मा परेर दिवंगत हुने कर्मचारीद्वयप्रति गल्ती महसुस गरेको छ। तर सर्वसाधारण जनतालाई धराप थापेर हत्या गर्ने उसको गैरजिम्मेवार कदमको सर्वत्र निन्दा गरिएको थियो। मिझिङ एम्बुस काण्डमा परी ज्यान गुमाउनु हुने दुई जना दाङ निवासी कर्मचारीहरू निम्न अनुसार हुनुहुन्छः-

१. बामदेव रिजाल

२. सुश्री विश्वमाया सुवेदी ।

 

सूर्यबहादुर खत्री, रोल्पा

रोल्पा जिल्लाको पाखापानी गाविसमा एमालेको तर्फबाट निर्वाचित वार्ड सदस्य तथा एमाले सदस्य सूर्य बहादुर खत्रीलाई ०५७ वैशाख २५ गते केही अज्ञात व्यक्तिहरूले बर्बरतापूर्वक हत्या गरे। उनलाई प्रहरीसँग सुराकी गर्छ भनेर माओवादीले पहिलेदेखि नै झुठ्ठा आरोप लगाउँदै आएको सन्दर्भमा उनको हत्या हुनुले उनको पारिवारिक सूत्रका अनुसार यस हत्यामा माओवादीको हात रहेको आशंका गरिएको छ।

 

पर्वलाल शाही, कालिकोट

अन्य जिल्लाहरु जस्तै कालिकोटमा पनि माओवादीहरुले एमालेका कार्यकर्ताहरुको हत्या गर्ने काम गरेका छन् । कालिकोट जिल्लाको छाप्रे गाविस अध्यक्ष क. पर्वलाल शाही नेकपा (एमाले) का सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। उहाँलाई माओवादीले झुठ्ठा आरोप लगाएर ०५६ फागुन २९ गते हत्या गरेका थिए ।

 

खड्क बोगटी र रोम बोगटी,  कालिकोट

कालिकोट फूकोट गाविसका एमालेका साधारण सदस्यहरू खड्ग बोगटी र रोम बोगटीलाई माओवादीहरूले ०५६ भाद्र २६ गतेका दिन निर्मम ढङ्गले हत्या गरेका थिए।

 

विष्णुप्रकाश बराल, कालिकोट 

नेकपा (एमाले) का अर्का साधारण सदस्य क. विष्णुप्रसाद बराललाई माओवादीहरूले ०५६ चैत्रमा हत्या गरेका थिए।

 

बिजुलीप्रसाद रेग्मी, जाजरकोट

जाजरकोटमा पनि माओवादीले एमालेका कार्यकर्ताको हत्या गरेका छन्। जाजरकोट थाला रैकरका एमाले गाउँ कमिटीका सचिव तथा इ.नं ९ का सदस्य बिजुलीप्रसाद रेग्मीलाई ०५५ कार्तिक १२ गते माओवादीद्वारा हत्या गरिएको छ। उहाँलाई माओवादीले घरबाट जवर्जस्ती बाहिर ल्याएर हत्या गरेका थिए।

 

गंगाबहादुर सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक राम्चे गाविसका एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष तथा पार्टी सदस्य गंगाबहादुर सुवेदीलाई पनि माओवादीले क्रुरतापूर्वक हत्या गरेका छन्। आफ्ने अडानमा दृढ क. सुवेदी जस्ता जनप्रतिनिधिलाई माओवादीले गलत आरोप लगाएर ०५६ ज्येष्ठ १४ गते हतया गरेका छन्। उहाँ पार्टीको इमानदार कार्यकर्ता हुनुहुन्थ्यो।

 

बलराम सापकोटा, काभ्रे

काभ्रे जिल्ला पाँचखाल गाविस ९ का एमालेबाट निर्वाचित उपाध्यक्ष तथा इलाका कमिटी सदस्य ३० वर्षीय बलराम सापकोटा पनि माओवादीको सिकार हुनु भएको छ। पार्टीको सक्रिय र इमानदार कार्यकर्ता क. सापकोटालाई माओवादीले सुराकी गरेको झुटो आरोप लगाएर ०५६ मङ्सिर १० गते घरबाट अपरहण गरेका थिए। अपहरण पछि उहाँको बारेमा अहिलेसम्म पनि माओवादीहरूले आधिकारिक रुमपा बोलेका छैनन्। यसको अर्थ उहाँको हत्या भैसकेको हुन सक्ने अनुमान गरिएको छ। उहाँको हत्याको औचित्य पुष्टि गर्न नसक्ने बाध्यताको कारण माओवादीहरू चुप लागेको हुनुपर्छ।

 

श्री बहादुर कुँवर, काभ्रे

काभ्रे जिल्लाका एमाले कार्यकर्ता श्री बहादुर कुँवरलाई माओवादीहरूले ०५५ श्रावण २४ गतेका दिन हत्या गरेका   थिए। चौवासा ९ निवासी कुँवर एक जना इमानदार व्यक्ति हुनुहुन्थ्यो।

 

मित्रमान तामाङ, दोलखा

दोलखा जिल्लामा पनि माओवादीले एमालेका एक जना कार्यकर्ताको हत्या गरेको छ। त्यसरी मारिनेमा भीमेश्वर नगरपालिका ४ निवासी एमालेका सङ्गठित सदस्य तथा नगर परिषद् सदस्य मित्रमान तामाङ हुनुहुन्छ । उहाँलाई कुनै आधार विना नै ०५६ भाद्र २६ गते हत्या गरिएको थियो। उहाँका श्रीमती, २ छोरा र १ छोरी छन्।

 

मानसिंह थापा, बाजुरा

नेकपा (एमाले) का साधारण सदस्य मानसिंह थापालाई बाजुरामा माओवादीहरूद्वारा हत्या गरिएको छ।

 

'वार्ता नै समाधान'

उक्त प्रतिवेदनले माओवादी समस्या मूलतः राजनीतिक समस्या हो भन्दै  यस समस्याको समाधान पनि राजनीतिक वार्ता र छलफलबाट नै निष्कर्ष निकाल्ने प्रयत्न गर्नु पर्ने भन्दै एउटा ठोस राष्ट्रिय सहमतिमा पुगेर माओवादीहरूलाई पनि राष्ट्रिय राजनीतिको मूल प्रवाहमा ल्याउन सक्नु नै समस्याको वास्तविक समाधान हो भनेको थियो। प्रतिवेदनमा लेखिएको थियो- 'यस समस्याको समाधानमा इमान्दारीतापूर्वक अधिकतम कोसिस गर्नु र राजनीतिक ढङ्गले यस प्रकारको समस्याको समाधान हुन सक्छ भन्ने कुरालाई तथ्य र व्यवहारमा पुष्टि गर्न सक्नु मुलुकको राजनीतिक नेतृत्वका सामु रहेको एउटा ठुलो चुनौती हो।'  प्रतिवेदनको ६ वर्षपछि २०६२ सालमा सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भयो र आन्दोलन सफल भएपछि माओवादी राजनीतिको मूल प्रवाहमा आयो। त्यसको १३ वर्षपछि दुई पार्टी एकै भएर विगतका सारा तिक्तता भुली नयाँ बाटोतर्फ अग्रसर छन्।

यद्यपि यसै सातामात्र प्रचण्डले भनेका छन्, माओवादीलाई सिध्याइहालियो भनेर सोचियो भने अर्को माओवादी जन्मन सक्छ र झन् ठुलो द्वन्द्व हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell