महोत्तरीः दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असई) फरार भएका छन्। मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असई रामनरेश साह फरार भएका छन्।
औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासीले अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन्।
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए अनुसार असई अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। अख्तियारको फन्दाबाट फरार भएका असई साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन्।
बर्दिबासस्थित कार्यालयबाट गएको पाँच/छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असई साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए। हाल दुबै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ। अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो। रासस