PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सरकारले काम गरेन भन्नेहरु, घरबाट बाहिर निस्केर हेर्नुस्, प्रस्ट देखिन्छ: मन्त्री बास्कोटा



पी बी खड्का

सरकारले काम गरेन भन्नेहरु, घरबाट बाहिर निस्केर हेर्नुस्, प्रस्ट देखिन्छ: मन्त्री बास्कोटा

सुर्खेतः सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले काम गरेको नदेख्नेहरु घरबाट बाहिर निस्कन आग्रह गरेका छन्। सरकारले छोटो समयमै लोकप्रिय काम गरेको भन्दै सरकारले काम गरेन भन्नेहरु घरबाट निस्कन आग्रह गरेका हुन्। बुधवार कर्णाली प्रदेश वीरेन्द्रनगरमा सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) को आयोजनामा शुरु भएको वार्षिक साधारण सभा तथा सामूदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन्।

‘सरकारले काम गर्न सकेन भन्नेहरु अब घरबाट बाहिर निस्कन आग्रह गर्दछु,’ उनले भने, ‘छोटो समयमै लोकप्रिय काम गरेको किन नदेख्ने? अब त्यसो भए घरभन्दा बाहिर आए सरकारको काम प्रस्ट देखिन्छ। परिवर्तन भन्ने चिज विस्तारै हुने हो।’

त्यसैगरी सरकारले गरिरहेको कामका लागि सामूदायिक रेडियोहरुको साथ आवश्यक रहेको औल्याएका छन्। उनले सञ्चारमाध्यम समाजको ऐना बन्नुपर्नेमा जोड दिए। पछिल्लो समय सञ्चारमाध्यममा विकृति मौलाउन थालेको भन्दै समाजमा सञ्चार माध्यमले आफ्नो ऐना हेर्नुपर्ने बेला आएको बताए।

सरकारले सामूदायिक रेडियोलाई फाइदा पुग्ने गरी समानुपातिक विज्ञापन नीति ल्याएको उल्लेख गरे। बास्कोटाले सरकारले सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्ने भन्दै यस्तो नीति ल्याएको दाबी गरे।

त्यसैगरी, सरकारले अब छिट्टै मिडिया काउन्सिल विधेयक ल्याउने तयारीमा लागेको जनाए। पत्रकारलाई न्युनतम पारिश्रमिक अनिवार्य रुपमा लागु गर्ने, सामूदायिक रेडियोको नवीकरण शुल्क घटाउने तयारीमा सरकार लागि परेको बताए।

त्यसैगरी, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश आफैमा धनी भएको बताए। स्रोत र साधन पर्याप्त भएर पनि उपयोगमा ल्याउन नसक्दा सबैको मनमस्तिष्क गरिब भएको उल्लेख गरे। ‘कर्णाली प्रदेश आफैमा धनी प्रदेश हो। यहाँ पर्याप्त स्रोत साधन छ। उपयोग गर्नुपर्ने अवस्था छ’ उनले भने।  

कर्णालीको विकास र समृद्धिका लागि सामूदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कर्णालीलाई धनी बनाउन अब सामूदायिक रेडियोहरुले सम्भावनाको खोजी गर्नुपर्नेमा उनको जोड थियो। प्रत्येक जिल्लामा भएका रेडियोहरु आफ्नो भूमिकाबारे स्पष्ट हुनपर्ने बताए।

त्यसैगरी, नेकपा नेता योगेश भट्टराईले सरकारलाई असफल बनाउन लागेका सञ्चारमाध्यमलाई छोड्न नहुने बताएका छन्। पछिल्लो समय कतिपय सञ्चारमाध्यम सरकारलाई असफल बनाउन तर्फ लागि परेको भन्दै यत्तिकै छोड्न नहुने बताए। ‘पछिल्लो समय कतिपय सञ्चारमाध्यम सरकारलाई असफल बनाउन तर्फ लागेका छन्।’ उनले भने,‘यस्ता सञ्चारमाध्यमलाई कुनै पनि हालतमा छोड्न हुदैन। सरकारलाई सहयोग गर्ने सञ्चारमाध्यमलाई पुरस्कृत पनि गनुपर्छ।’

सामूदायिक रेडियोहरुको विकासका लागि आवश्यक ऐन बनाउन सरकारलाई दवाव दिन तयार रहेको बताए। सामूदायिक रेडियो सरकारको सारथि भएको भन्दै यसमा कुनै दुईमत नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell