PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

ओलम्पिक महिला फुटबल : एसियाली छनोटको दोस्रो चरणमा पनि नेपालले म्यानमार र भारतसँग खेल्ने



पहिलोपोस्ट

ओलम्पिक महिला फुटबल : एसियाली छनोटको दोस्रो चरणमा पनि नेपालले म्यानमार र भारतसँग खेल्ने

काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबल अन्तर्गत एसियाको दोस्रो चरणको छनोटका लागि ड्र सार्वजनिक भएको छ।

एएफसीले बुधवार सार्वजनिक गरेको ड्र अनुसार नेपाल, भारत र म्यानमार पुन: एउटै समूहमा परेको छ।

पहिलो चरणमा पनि यी तीन वटै राष्ट्रसहित बंगलादेश एउटै समूह परेको थियो। जसबाट म्यानमार र भारत स्वत छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको हो

हाल नेपालको महिला टोली भारतमा हिरो वुमन्स गोल्डकप खेलिरहेको छ। यस प्रतियोगितामा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो।

दोस्रो चरणमा समूह ए मा नेपाल, भारत र म्यानमारसँगै इन्डोनेसिया पनि छ। यस समूहको सबै खेल म्यानमारमा हुनेछ। दोस्रो चरणको खेलहरु अप्रिल १ देखि ९ सम्म सञ्चालन हुनेछ।

यस्तै समूह बी मा हङकङ, जोर्डन, भियतनाम र उज्वेकिस्तान छन् भने समूह सी मा चाइनिझ ताइपेई, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन्।

दोस्रो चरणबाट तीन वटा समूहको शीर्ष स्थानमा रहने टिमहरु मात्र तेस्रो चरणमा प्रवेश गर्नेछन्।

यसअघि नै बाई पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन्। यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल ८ टोलीबीच तेस्रो चरणको छनोट हुनेछ। जसमा चार-चार राष्ट्रको दुई समूह हुनेछ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन्। त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ। आयोजकको रुपमा जापन भने छनोट भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell