PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश १ सरकारको एक वर्ष, मुख्यमन्त्री राईले भने, ‘न हिँड्ने बाटो, न बस्नै ठाउँ नै, गुन्द्री र पिरामा बसेर काम थालियो'



अनन्तराज न्यौपाने

प्रदेश १ सरकारको एक वर्ष, मुख्यमन्त्री राईले भने, ‘न हिँड्ने बाटो, न बस्नै ठाउँ नै, गुन्द्री र पिरामा बसेर काम थालियो'

विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको चालु हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामाङ्कन टुङ्ग्याएर नयाँ संरचनाको कामलाई तीव्र गतिमा अघि बढाइने बताएका छन्।

प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहिबार विराटनगरका सञ्चारकर्मीसमक्ष साढे ४ पृष्ठको लिखित भाषण पढ्दै मुख्यमन्त्री राईले चालु अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाङ्कनको प्रक्रिया टुङ्ग्याउने जानकारी दिएका हुन्।

‘नयाँ संविधान जारी भइसकेपछि सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण चरणमा मुलुक प्रवेश गरेको छ’, राईले भने, ‘सङ्घीयता कार्यान्वयनको आधारभूत संरचना भनेको प्रादेशिक संरचना हो। प्रदेशहरू जति बलिया हुन्छन्, सङ्घीयता त्यति नै प्रभावकारी रूपमा कार्यान्वयन हुनेछ। यस अर्थमा हाम्रो प्रयास प्रादेशिक संरचनाहरूलाई व्यवस्थित र बलियो बनाउने कुरामा केन्द्रित छ।’

मुख्यमन्त्रीले पहिलो वर्षको कार्यकाल सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन र आवधिक योजना निर्माण वर्षका रूपमा रहेको उल्लेख गर्दै सुरुका केही महिना संरचना, कर्मचारी र कार्यालय व्यवस्थापनमा समय लागेको बताए।

‘सङ्घ र स्थानीय तह बनिबनाउ संरचनासहित पुरानै विरासतमा बसेर काम थाल्नसक्ने अवस्थामा थिए तर प्रदेश सरकारको हकमा न हिँड्ने बाटो, न बस्नै ठाउँ नै थियो’, उनले सुनाए, ‘शून्यबाट गुन्द्री र पिरामा बसेर काम थाल्नु परेको थियो।’

‘कानुन निर्माणका प्रक्रियामा हाम्रो प्रदेश अगाडि छ’, उनको दाबी छ, ‘हामीले २ वटा अधिवेशनमा गरी २४ वटा ऐन पारित गरेका छौँ। अन्य विधेयकहरू चालु प्रदेश सभा बैठकबाट पारित हुने अन्तिम तयारीमा छन्।’

एक वर्षको अवधिमा योजना आयोगको गठन गरिएको र सरकारको ध्यान आवधिक योजनामा केन्द्रित भएको जानकारी दिँदै उनले सरोकारवालासित छलफल गरेर आवधिक योजनाको आधारपत्र सार्वजनिक गरिएको र चाँडै आवधिक योजना पूर्ण रूपले तयार हुने स्पष्ट पारे।

सरकारले कृषि, ऊर्जा, पर्यटन र औद्योगिक विकासलाई प्राथमिकताको सूचीमा राखेको चर्चा गर्दै मुख्यमन्त्री शेरधनले व्यावसायिक खेतीका लागि यसै वर्ष ३ वटा शीत भण्डार बनाइरहेको बताए।

उनले मिल्क होलिडेको समस्यालाई समाधान गर्न विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्टको स्तरोन्नति र सुदृढीकरणका लागि प्रदेश सरकारले काम अघि बढाएको प्रसङ्ग उल्लेख गरे।

राईले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई सङ्घीय सरकारमा सिफारिस गरिएको चर्चा गरे। साथै प्रदेशभित्र रहेका सबै विमानस्थलमा विराटनगर विमानस्थलबाट उडान सेवा सुरु गर्न पहल थालिएको खुलासा गरे।

उनले भने, ‘निजी क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेको छ। यसलाई सरकारले तुम्लिङटार र दोलालघाटसम्म विस्तार गर्न विस्तृत अध्ययन र सर्वेक्षणका लागि पहल सुरु गरेको छ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell