PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

नेकपाको विवादले उम्मेदवारी रद्द : सांसदमाथि हस्ताक्षर कीर्ते गरेको आरोप



पहिलोपोस्ट

नेकपाको विवादले उम्मेदवारी रद्द : सांसदमाथि हस्ताक्षर कीर्ते गरेको आरोप

काठमाडौं : प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विवाद बढ्दै गएको छ। नेकपाको विवादले गर्दा शुक्रवार प्रदेश संसदको सार्वजनिक लेखा समितिले सभापति पाउन सकेन्।

सभापतिका लागि नेकपाबाट उम्मेदवारी दर्ता गराएका दुवै जनाको उम्मेदवारी कायम नरहेपछि समितिको सभापति चयन हुन नसकेको हो।
प्रमुख प्रतिपक्षी नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिका लागि बिहीवार नेकपाबाटै दुई जनाले उम्मेदवारी दिएका थिए।

नेकपाले आधिकारिक उम्मेदवारका रुपमा भरत साहलाई अगाडि सारेको थियो। उनी पूर्व माओवादी नेता हुन्। तर, उनलाई समर्थक जुटाउनै कठिन भएको थियो। त्यसक्रममा उनले एक जना सांसदको कीर्ते हस्ताक्षर गरेर उम्मेदवारी दर्ता गराएको आरोप लागेको थियो।

सभापतिका उम्मेदवार भरत साहको समर्थक बसेका सांसद रामकुमार यादवले आफूले हस्ताक्षर नगरेको लिखित जानकारी समितिलाई गराएका छन्। 

उम्मेद्वारको समर्थक जुटाइदिने जिम्मेवारी संसदीय दलका नेताको हुन्छ। संसदीय दलका नेता सत्यनारायण मण्डलकै आग्रहमा सांसद साहलाई यादवको हस्ताक्षर प्रयोग गरेको प्रतिक्रिया दिएका छन्।

हस्ताक्षरकर्ताले आफूले हस्ताक्षर नगरेको भनेपछि साहको उम्मेदवारी रद्द भएको छ।

बिहीवार नै नेकपाकै सत्रुघन महतो कोइरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। महतो पूर्व एमालेभित्र माधव नेपाल पक्षका नेता हुन्। पार्टीमा विवाद भएको समाचार बाहिर आएपछि केन्द्रीय नेताहरुको दबाबमा महतोले शुक्रवार उम्मेदवारी फिर्ता लिएका छन्।

प्रदेश २ संसद सचिवालयका अनुसार लेखा समितिका लागि दुवै जनाको उम्मेदवारी नरहेपछि निर्वाचनको अर्को कार्यतालिका बनाउने तयारी हुँदैछ। सभामुखसँगको परामर्शपछि नयाँ कार्यतालिका तयार हुनेछ।

प्रदेशसभामा रहेका कूल सात संसदीय समिति मध्ये ६ वटा समितिका सभापतिहरु बिहीवार निर्विरोध निर्वाचित भएका थिए। लेखा समितिमा १३ जना सदस्य छन्। नेकपाका ४, फोरमका ३, राजपाका ३ र कांग्रेसका ३ तीन जना सदस्य छन्।

यो पनि पढ्नुस् : केन्द्रमा मिलेको मन प्रदेशमा मिलेनः प्रदेश २ मा नेकपाभित्र विवाद, लेखा समितिमा नेकपाकै दुई उम्मेद्वार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell