PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित, म्यान्मारसित फाइनलमा पराजित



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित, म्यान्मारसित फाइनलमा पराजित

काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपमा नेपालको महिला टोली उपविजेतामै सीमित भएको छ। 

चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका थिए। आज साँझ भएको फाइनलमा म्यान्मारले नेपाललाई ३-१ ले पराजित गर्‍यो। 

मध्यान्तरसम्म १-१ को बरारीमा रहेको खेल नेपालले ३-१ ले गुमाएको हो। ३५ औँ मिनेटमा म्यान्मारकी यी यी ओले गोल गरेका थिए। ४५ औँ मिनेटमा नेपालकी मन्जली कुमारी योन्जनले गोल गरी खेललाई बराबरीमा ल्याएकी थिइन्।

 
तर मध्यान्तरपछि ५३ औँ मिनेटमा विन थिएन्जी तुन र ६३ औँ मिनेटमा यी यी ओले गोल गरेपछि नेपाल उपविजेतामा सीमित हुनु पर्‍यो। 

म्यानमारले लिग चरणमा सबै तीन खेल जित्दा नेपालले दुई खेल जितेको थियो।

पहिलो खेलमै म्यानमारसँग ३-० ले पराजित भएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा बाँकी दुई खेल जितेर फाइनल पुगेको थियो।

यसक्रममा नेपालले अहिलेसम्म हराउन नसकेको भारतलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै ऐतिहासिक उपलब्धी हात पारेको थियो। भारत विरुद्ध त्यो नेपालको पहिलो जित थियो। यस्तै नेपालले अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गर्‍यो।

अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि लिगमा म्यानमार ९ अंकहसित पहिलो र नेपाल ६ अंकसहित दोस्रो भएको हो।

भारतले एक जितबाट ३ अंक मात्र जोड्दा इरान सबै खेल हार्दै अंकविहिन बनेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell