PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

घाम लगत्तै पानी, झरी लगत्तै घाम : एकाएक मौसम बदलियो किन?



रासस

घाम लगत्तै पानी, झरी लगत्तै घाम : एकाएक मौसम बदलियो किन?

काठमाडौँ : घाम लाग्दालाग्दै काठमाडौंको मौसम एकाएक बदलियो। चट्याङसहित पानी पर्न थालेपछि चिसो एकाएक बढ्यो। र, आकाश उघ्रिन पनि समय लागेन। खण्डवृष्टि काठमाडौंमात्र मात्र होइन, देशका धेरै भागमा भइरहेको छ।

पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो। 

पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए। ‘‘अझै एक/दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन,’’ श्रेष्ठले भने। काठमाडौँ उपत्यकामा आज हल्का वर्षा भएको हो। 

बुधवार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ। आज राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्य पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। 

त्यस्तै भोलि आइतबार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली हुनाका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार पश्चिमी भू–भागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ अधिकमत तापक्रम २१ दशमलव ७ डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell