PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

स्थानीय तहमा कांग्रेसकाे प्रशिक्षण, गगन थापाले गरे शुभारम्भ



रासस

स्थानीय तहमा कांग्रेसकाे प्रशिक्षण, गगन थापाले गरे शुभारम्भ

चितवन: नेपाली काङ्ग्रेसले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो। 

हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो। नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महिनाबाट अभियान शुरु गरिएको जानकारी दिए। गत माघ १२ गते माडीमा पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो। 

सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिएका थिए। त्यसैगरी माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिएका थिए।

काङ्ग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताए। यसैगरी रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ। 

सभापति श्रेष्ठले पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयका बारेमा स्थानीय तहका नेताहरुलाई जानकारी गराउन, सरकारका गलत गतिविधिका बारेमा प्रशिक्षित गराउन, काङ्ग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न जिल्ला व्यापी रुपमा प्रशिक्षण थालिएको हो। 

प्रशिक्षणमा हरेक वडाबाट कम्तिमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ। गत निर्वाचनमा सङ्घ र प्रदेशका सबै निर्वाचनमा काङ्ग्रेसले हार बेहोरेको थियो भने स्थानीय तहमा गाउँपालिका बाहेक अन्यत्र काङ्ग्रेसको नेतृत्व शून्य भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell