PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियो



पहिलोपोस्ट

सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियो

काठमाडौँ: गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ठ व्यक्तिहरुको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

अहिलेसम्म करिब तीन सयजना सुरक्षाकर्मी फिर्ता गरिएको हो। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार नै सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा गत वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको थियो। तर केही पिएसओ मात्र फिर्ता भएका छन्।

गृहमन्त्री थापाले बारम्बार फिर्ताको लागि पहल गरेपछि पछिल्ला केही महिनामा केही पूर्वमन्त्री, सांसद् र प्रहरीले पिएसओ फिर्ता गरेका छन्। ‘

हामीले तीन सयजति सुरक्षाकर्मी फिर्ता बोलाएका छौं। अब केही छिटफुट मात्र होलान्' सुवेदीले भने।

फिर्ता भएका सुरक्षाकर्मीलाई ड्यूटीमा खटाइएको छ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट नै निर्णय गराएर भिआइपी व्यक्तिहरुको पिएसओ र अर्दली फिर्ताको तयारी गरेको थियो।

वर्षौँदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन्। पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी छन्।

गृहमन्त्री रामबहादुर थापाले गृहको जिम्मेवारी सम्हालेलगत्तै नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी, अमरेस सिंह, पूर्वप्रहरी महानिरिक्षक रमेश चन्द्र ठकुरी, ओमविक्रम राणा लगायत नेता तथा पूर्वसचिवका चालकका रुपमा रहेका प्रहरीहरु फिर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell