PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अनाथ बालबालिका पढ्ने कोपिला भ्याली प्रदेश सरकारलाई विद्युत बेच्ने योजनामा



पी बी खड्का

अनाथ बालबालिका पढ्ने कोपिला भ्याली प्रदेश सरकारलाई विद्युत बेच्ने योजनामा

सुर्खेत: हरियो जंगल। जंगलको छेवैमा पर्खालले घेरिएको साना साना घर। झट्ट हेर्दा समुदायको झल्को दिने। घरमा जोडिएको मनमोहक बरन्डा। माटोले लिपेका घर। बाँसबाट बन्दै गरेका घर। गार्डेनमा सागसब्जी।

यो दृश्य हो सुर्खेतको वीरेन्द्रनगर–१ धारापानीमा रहेको कोपिला भ्याली स्कुलको। २०६७ सालदेखि भाडामा सञ्चालित स्कुलले भर्खरै आफ्नै नयाँ भवन पाएको छ। अनाथ, गरिब बालबालिका अध्ययन गर्ने उक्त विद्यालय यसरी मनमोहक बनाउनमा अमेरिकाको सिएनएन (केबल न्युज नेटवर्क) बाट हिरो अफ दि इअर २०१५ को उपाधि जितेकी म्यागी डोयनको हात छ। उनकै काखमा कर्णालीका अनाथ, गरिब बालबालिका अध्ययन गर्दै आएका छन्।

मानव सेवा धर्मको उच्च मुल्यांकन गर्दै अमेरिकाको सिएन एन (केबल न्युज नेटवर्क) बाट हिरो अफ दि इअर २०१५ को उपाधि प्राप्त गरेको नगद एक लाख १० हजार डलर पुरस्कारसमेत सोही विद्यालयमा लगानी गरेकी छन्। उनकै पहलमा सुविधा सम्पन्न स्तरीय विद्यालय भवन निर्माण गरिएको छ।

२ विगाह १७ कट्टा १६ धुर क्षेत्रफलमा फैलिएको विद्यालय सौन्दर्यात्मक शैलीमा बनेको देख्न सकिन्छ।

विगत ५ वर्षदेखि निर्माण कार्य थालिएको विद्यालय साढे १२ करोडमा निर्माण गरिएको हो। वातावरणमैत्री, भूकम्प प्रतिरोधी, सौर्य ऊर्जा, बायो ग्याँस, र्‍यामड अर्थ आदि प्रविधियुक्त कोपिला भ्याली विश्वमा विद्यालयहरुका लागि वातावरणमैत्री उदाहरणीय विद्यालय बन्ने म्यागीको दावी छ।

गाउँकै घरजस्तै बनाईएको भवनहरु माटो, सिमेन्ट, बालुवाको प्रयोगमा निर्माण गरिएको छ भने, अर्कोतर्फ बाँसबाट भवन निर्माण गरिँदै छ। चितवनमा प्रशोधित बाँसबाट बनेको भवनको आयु  ६० वर्ष बढी हुने अनुमान गरिएको छ। 

बालबालिकाका लागि खेल्ने पर्याप्त मैदान तयारी गरिएको छ भने, शौचालय, पिउने पानी लगाएतका सम्पूर्ण आवश्यक सामग्री बालबालिकामैत्री छन्। विद्यालयको खाली जग्गामा विभिन्न सागसब्जी लगाइएको छ।

विद्यालयमा ४५ जना विद्यार्थी आवासीय छन् भने, हाल ४५० जना विद्यार्थी निशुल्क पढ्दै आएका छन्। विद्यार्थीलाई आवश्यक पर्ने खाना, कपडा, कपीकलम लगाएतका शैक्षिक सामग्री म्यागीले नै उपलब्ध गराउँदै आएकी छन्। दिगो विद्यालयमा बनाई गरिब, अनाथ असहाय तथा पिछडिएको परिवारका बालबालिकालाई गुणस्तरिय शिक्षा दिने म्यागीको उद्देश्य छ।

म्यागीको पहलमानै विभिन्न ३५० बढी दाताहरुले अहिले विद्यालयलाई सघाउँदै आएका छन्। 

 

विद्युत बेच्ने योजनामा स्कुल

उत्पादन गरेको विद्युत प्रदेश सरकारलाई बेच्ने योजनामा छ विद्यालय। आफुले प्रयोग गरेर बचेको विद्युत प्रदेश सरकारलाई बेच्ने कोपिला भ्याली स्कुलका प्रधानाध्यापक नैन चौधरीले बताए। सन फार्मर संस्थाको साझेदारीमा १०० प्रतिशत सौर्य शक्ति निर्माण गरेको बताए। सौर्य उर्जालाई विद्युतमा परिणत प्रणाली २५.२ किलोवाट क्षमताको रहेको उनले बताए। सौर्य ऊर्जाले दैनिक एक सय ५० किलोवाट विद्युत उत्पादन गर्ने उनको भनाई छ।

‘एक अन ग्रीड प्रणालीमार्फत सौर्य ऊर्जालाई दैनिक १५० किलोवाट विद्युतमा परिणत गर्ने छ।’ उनले भने,‘स्कुलका लागि आधा वाटमात्रै खपत हुने देखिन्छ। अरु बाँकी त बच्ने हो। त्यसका लागि हामी प्रदेश सरकारसंग कुरा गरेर बेच्ने योजनामा छौँ।’ फेरि थपे,‘वरीपरी रहेका छिमेकीलाई पनि उज्यालो बनाउँछ।’

यसरी बन्छ सौर्य शक्तिको प्रकाशले खाना

विद्यालयले प्रोपेन एल.पी. ग्याँसको साटो सोलार कुकर प्रयोग गर्ने भएको छ।

प्रधानाध्यापक चौधरीका अनुसार भवनको माथि छतमा तीन वटा सोलार एकाईहरु रहने छन्। जसले तेल तताउन, पानी उमाल्न, भात दाल पकाउने कार्यमा प्रयोग हुने छन्। यस प्रणालीमा ३ पक्तीहरुका बाङ्गा ऐनाहरुले सुर्यको प्रकाश कुचालक नलीहरुमा केन्द्रित गर्ने छ। यसभित्र उच्च तापक्रममा तातिएको तेल हुने छ। सोही तेल खाना पकाउने भाडामा प्रसारित भइ खाना पकाउन सकिने छ। सुर्खेतमा वार्षिक औषत ३०० दिन घाम लागेको समयमा करिव ५ सय जनालाई खाना पाक्ने छ। 

 

वर्षातको पानी यसरी हुदैँछ प्रयोग

स्कुलले वर्षातको पानी समेत संकलन गर्ने छ। ३ लाख लिटर पानी अट्न सक्ने क्षमता भएको ट्यांकी जमिन मुनी छ। पानी प्रसोधन प्रविधी पनि सञ्चालन गरिसकेको विद्यालयका प्रधानाध्यापक चौधरीले जानकारी दिए। गटर प्रणालीद्वारा छानामा परेको पानी प्रशोधित प्रणालीमा पठाएर टंयांकीमा जम्मा हुने छ। उक्त पानी विभिन्न ३ किसिमका जैविक तथा अजैविक प्रसोधन प्रक्रियामार्फत प्रशोधन हुने छ।

यसरी सञ्चय गरेको पानीले विद्यालयमै माछापालन गरिने छ। माछा पालनबाट निस्केको पानीले विद्यालयमा भएका बोटविरुवा, सागसब्जीमा सिचाई गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell