PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भाषाशास्त्री पोखरेलको अवस्था जटिल, आइसियुमा



अनन्तराज न्यौपाने

भाषाशास्त्री पोखरेलको अवस्था जटिल, आइसियुमा

विराटनगरः एक महिनादेखि मस्तिष्काघातको उपचार गराइरहेका भाषाशास्त्री एवम् प्राध्यापक बालकृष्ण पोखरेलको स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि विराटनगरस्थित श्री अस्पतालको आइसियुमा सारिएको छ।


शनिबार रातिदेखि प्राध्यापक पोखरेललाई आइसियुमा सारिएको छोरा मुनाल पोखरेलले बताए।


प्राध्यापक पोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीका घर गएका बेला गत माघ ६ गते मस्तिष्काघात भएको थियो। 


‘माघ ६ देखि ८ गतेसम्म भारतकै सिलिगुडीको न्युरो अस्पतालमा उपचार गर्‍यौँ’, छोरा मुनालले भने, ‘माघ ८ गते काठमाडौं ल्याएर नर्भिकमा १२ दिन भर्ना गर्‍यौँ।’


माघ २१ गते नर्भिकले डिस्चार्ज दिएपछि पोखरेललाई विराटनगरस्थित आफ्नै घर ल्याइएको थियो। यसपछि माघ २३ देखि फागुन ४ सम्म विराटनगरकै स्पार्क नेचुरोप्याथी एन्ड फिजियोथेरापी अस्पतालमा उपचार गरिएको थियो। फागुन ४ गते मुटुको धड्कन कम भएपछि श्री अस्पतालको सघन उपचार कक्षमा सारिएको मुनालले बताए।


प्राध्यापक पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका छन्। श्री अस्पतालमा उनलाई डाक्टर वकर अहमदको समूहले उपचार गरिरहेको छ।


डाक्टर अहमदका अनुसार मधुमेह र रक्तचापको उतारचढाव अहिलेको मुख्य समस्या भए पनि समग्र स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त छ। केही समययता कोलेस्टोरेल बढेको कारण मुटुमा ब्लकेज देखिने सम्भावना रहेको वकरले बताए।


नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘बृहत् नेपाली शब्दकोश’को तयारीमा विशेष योगदान गरेका पोखरेलका ‘खस जातिको इतिहास’ र ‘राष्ट्रभाषा’ जस्ता खोजमूलक कृतिसहित उपन्यास, काव्य, कथा र समालोचना विधामा पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell